डर रहर होइन , डर सबैलाई छ , कसैलाई भोकको कसैलाई कोरोनाको ..

मैले दिनहुँ खुल्लामञ्चमा सयौँ भोका मानिसहरूको भीड देखिरहेको छु । यस्ता खुल्लामञ्च हाम्रो गल्ली गल्लीमा छैनन् भनेर कसैले मलाई विश्वस्त पारिदिन सक्छ ??

 


पक्कै पनि रोग जटिल नभएको भए संसार रोकिने थिएन ... । कतै कतै कुराहरू बुझ्न सक्ने, बुझ्न पर्ने , सही गलत छुट्टयाउन सक्ने , पढेलेखेलाहरुले नै कोरोना केही होइन भनेर भ्रम फैलाएको देख्दा भने पारा तातेर आउँछ , दया लागेर आउँछ ।

 हामीले एक अर्काको सहयोग गरेर केही समय नमरी बस्न सक्छौं , सबै बाँच्न सक्छौं , बाँच्नका लागि सँगै लड्न सक्छौं । 

तर कोरोनाले भेट्टायो भने जिन्दगीको खातिर एक्लै लड्न पर्ने हुन सक्छ। स्वास्थ्यकर्मीहरुले त बस् टाढै बाट हेरविचार गरेर मर्न नदिने प्रयास गर्ने मात्रै हुन। तै तै आफ्नो ज्यानको पर्वाह नगरी बिरामीलाई सेवा दिने डाक्टर नर्स लगायत अरूले उहाँहरुले दिने सक्ने सबै भन्दा माथिल्लो स्तरको सेवा नै दिए पनि उहाँहरुको स्पर्श र आफ्नो परिवारको स्पर्शमा फरक हुन्छ । ऋण काढेर अथवा भएको पैसा सक्काएर अस्पतालमा बस्नु भन्दा मिठो मसिनो जे छ खाएर आफ्नै घर वा डेरामा परिवारसंग बस्नुमा फरक छ ।

 हाम्रो त दाना पानीको शरीर हो , खानपिनमा केही मिलेन भने , काम र आरामको समय मिलेन भने , निन्द्राको समय मिलेन भने त कति धेरै गार्हो महसुस हुने हाम्रो शरीरमा हानिकारक भाइरस छिर्योभने पक्कै सजिलो हुने छैन । अझै हामीलाई त झन् यो नयाँ कोरोना भाइरसले के असर गर्छ समेत थाहा छैन । 

 हो जीवन सोचेजस्तो हुँदैन , कक्षा ६ मा पढेको किसान कविताको याद आउँछ " नगरी काम पुग्दैन खान साझ र बिहान " । साँच्चै नै हाम्रो देशमा बिहान सबेरै उठेर दिन सुरु नगरे आफू र आफ्नो परिवार पाल्न कठिन हुने ठूलो भीड छ । कोठाभाडा तिर्न नसकेर यस्तो महामारीको बेला समेत डेराबाट निकालिएका कथाहरू हाम्रो पत्र पत्रिकाहरूमा दैनिक आइरहेका छन् । तर कसैगरी दिनरात खटिएर पेट पाल्ने त्यै शरीर नै रोग लागेर थलीयो भने के गर्ने ?? देशमा स्तिथि एकदमै जटिल बन्दै गइरहेको छ , धनी अलिकति कम धनी बनेर पनि बाँच्न सक्लान् तर गरिबहरूलाई अझ अलिकति गरीब बन्दिउ न त भन्न सक्ने अवस्था छैन , अलिकति गरीब बन्न पर्नु भनेको उनीहरूको लागि मर्नु नै हो । म त भन्छु त्यो मर्नु भन्दा पनि गार्हो कुरा हो । ओहो ! एकपटक मर्नेलाई पो मर्यो सक्कियो , पटक पटक मर्न त सार्हो छ नी बाबै !

संक्रमित बढिरहेका छन् ,सरकार लकडाउन गर्छ , हटाउँछ , फेरि गर्छ फेरि हटाउँछ गरिरहेको छ । लाग्छ हाम्रो सरकारले बुझेको छैन कि लकडाउन समाधान होइन । हो , अवस्था जटिल बन्दै गइरहेको छ तर अझै पनि ढिला भइसकेको छैन । लकडाउन त बस् फस्ट एड जस्तो मात्रै हो , बिरामीको ज्यान बचाउन त अस्पताल नै लैजान पर्छ । लकडाउनले खाली हामीलाई हाम्रो तयारी गर्ने समय थोरै बढाइदिएको मात्रै हो । 

घरमा मामा भान्जाको कुरा हुँदा मामा बाट थाहा पाएँ , विभिन्न राहत कोषमा थुप्रो रकम जम्मा भइसकेको रहेछ । त्यो पैसा जम्मा गरेर मात्रै राखिरहने हो भनें त्यहाँ पैसा थपिन रोकिनेछ । मैले सहयोगको भावनाले कतै पैसा दिइरहेको छु तर त्यसको प्रयोग भएको छैन भने म फेरि त्यहाँ सहयोग गर्दीन । ती कोषहरुमा त्यस्तै नहोला भन्न सकिन्न किनकि मैले दिनहुँ खुल्लामञ्चमा सयौँ भोका मानिसहरूको भीड देखिरहेको छु । यस्ता खुल्लामञ्च हाम्रो गल्ली गल्लीमा छैनन् भनेर कसैले मलाई विश्वस्त पारिदिन सक्छ ??

हामी कोरोनसँग लडेर अगाडि बढ्न हजारौँ कारणहरू छन् तर यसबाट भागेर , कतै लुकेर , कतै थुनिएर बस्ने कारण सायद अब एउटा पनि बाकी छैन । सय दिन लामो लकडाउन र तीन हप्ते निषेधाज्ञाले हाम्रो सबै भन्दा बलियो मानिएको राजधानीलाई त थिलथिलो बनाइसक्यो अरु ठाउँहरूको कुरा नगर्दै बेश ।

डर सबैलाई लाग्छ , आफ्नो ज्यानको माया सबैलाई लाग्छ । कोरोनसंग बचिन्छ की भनेर सरकारले आवश्यक तयारी गरेर सक्काउँछ की भनेर लकडाउन मान्ने एउटा भीड छ अनि भोक मेटाउन दिनहुँ खटिनुपर्ने अर्को भीड छ । यसरी विभाजित हुनुमा कसैको दोष छैन , यी सबैले आफ्नो ज्यानको माया भएर नै ति कामहरू गरिरहेका हुन । आफ्नो ज्यान जोगाउन नै मानिस घरमा बसिरहेको छ , आफ्नो ज्यान जोगाउन नै मानिस काममा हिँडिरहेको छ । फरक यत्ति हो कसैलाई कोरोनाको डर छ भने कसैलाई भोकको । डर रहर होइन । हामीलाई भोकको , कोरोना अनि अन्य धेरै डर छ , कुरा हामी के सँग बढी डराइरहेका छौँ भन्ने हो । 

खैर कुरालाई धेरै लामो नबनाऊ होला। विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड हामी सबैले पालना गरौं । कोरोना भाइरस हामी सबैको शत्रु हो , मिलेर यो युद्ध लडौँ । हामी मिलेर अगाडि बढ्यौं भने अवश्य छिट्टै जित्ने छौँ । पुराना प्यारा दिनहरू छिट्टै फर्किनेछन् ।