फर्केर आउ घर

काफल,थाकल,जमुनो पनि पाकेछन् जंगल पर, खनायो, नास्पातीले पनि भन्छन् फर्केर आऊ घर ।

हुर्कियौ गुँडबाट पखेटा हालि भयौनी आज पर,

चन्द्र अस्ताएर दिप निभ्नै लाग्यो फर्केर आउ घर ।

तिम्ले चरर गरी खेल्ने त्यो वरको बूढो भयो रूख,

सातै समुद्र पारी वेग हान्यौ तिमी खोज्दै सुखैसुख ।

ढपक्कै ढाक्यो वनमासाले त्यहाँ टारी र गैरी खेत,

भन्दैछिन् भँगेरीले पनि हुँदैनकी हाम्रो भेट,

हिँड्दै गरेका ति बाबुआमा पनि परिसकेछन् थला,

चुटियो घर च्यातियो चोलि पनि टालि लाँउदैछन् बरा ।

तिम्रो बाटो कुरी बसेकी ति तिम्री सानी पनि,

अर्कैले भर्यो सिउँदो पनि भेट हुन्न हाम्रो भनि ।

पिलाई अमृत धारा अनि खुवाइ सिमाङको घिउ,

बलियो तिमी भयौ आज यहाँ गल्दैछ आमाको जीउ ।

काफल,थाकल,जमुनो पनि पाकेछन् जंगल पर,

खनायो, नास्पातीले पनि भन्छन् फर्केर आऊ घर ।

तिम्ले खेल्ने त्यो चिप्लेटीमा पनि उम्रिसकेछ झ्याउ,

ल्याउन तिमीले केही पर्दैन यहाँ आमाको ममता ल्याऊ ।

(✍️रन्जिता पन्त)