लाजनिति भर्सेस डा.केसी

युद्ध चलिरहेछ । नितान्त , निरन्तर , विगत ८ वर्ष देखि अविरल बग्ने इन्द्रावती जस्तै !! कहिले शान्त शान्त त कहिले उर्लिएर । उर्लिएको बखत कहिलेकाहीं बाँधहरु बाँधिन खोजिन्छन् , शान्त बसेको बेला बनिरहेको बाँध बनाउन छोडिन्छ , फेरि उर्लियो फेरि बनाउन लागेजस्तो गर्छन् फेरि शान्त हुँदा बनाउन छोडिदिन्छन् । बिचरा स्वास्थ्यको बगर डुबानमा पर्न छोडेको छैन् ।

सानै हुँदा देखि राम्रो काममा सबैको साथ मिल्छ भनेको सुन्थे , मलाई संसार यसरी चिनाईएको थियो कि यो संसारमा नराम्रा कोही हुँदैनन् , केही हुँदैनन् लाग्थ्यो । बुबा आमाले कालो-गोरो , धनी-गरीब , मोटो-पातलो , सक्षम-असक्षम , जातपात आदि इत्यादी सबै भ्रम हो , नराम्रो सोच्न हुँदैन , राम्रो गर्नु पर्छ भन्दै हुर्काउनु भयो । तर जब बढ्दै गयौँ , बुझ्दै गयौँ संसार फरक रहेछ । न किताबमा पढेको जस्तो , न बा-आमाले पढाए जस्तो । 

 

कथै कथाको यो जिन्दगीमा देखिरहेको एउटा कथा छ , डा. गोविन्द केसीको कथा । उहाँको कथा मलाई जस्तै गरी हुर्काइएका सबैलाई निकै नै अनौठो लाग्ने कथा हो । सायद मैले डा. केसी को हुन भनेर कसैलाई चिनाउन नपर्ला । देशको मेडिकल क्षेत्रमा फैलिएका कयौँ बितिथि विरुद्ध बुलन्द आवाजका साथ लडदै आइरहनु भएका चिकित्सक डा. गोविन्द केसी हामी कसैका लागि नौलो नाम होइन । 

 

डा. केसी अहिले आफ्नो १९ औं भोक हडतालमा हुनुहुन्छ । विगतका १८ पटकमा झै यस पटक पनि उहाँलाई अहिले सम्म सरकारले वास्ता गरेको देखिदैन । न त कांग्रेसको सरकारले डा.केसीको मागलाई बुझ्यो , न त कम्युनिस्टकाे सरकारले उहाँको मागलाई चिन्यो । उनीहरूले त बस् जनताहरूलाई आफू यस्तो छौँ , राम्रो कुरामा पनि कसैको साथ दिन सक्दैनौं भनेर सबैलाई चिनाए । 

 

डा. केसीको मागहरु सुन्दा लाग्छ , यस्तो राम्रो कुरामा पनि बुढाले किन हडताल नै गर्न परेको होला । उहाँ आफै यति ठुला डाक्टर हुनुहुन्छ , पक्कै स्वास्थ्यका केही मान्छे चिन्नु भएकै होला ! उहाँ यति ठुला समाजसेवी हुनुहुन्छ , पक्कै बोलेको खण्डमा उहाँको आवाज यसै खेर जाँदैन । थुक्क तर हाम्रो देशको दुर्दशा , हामी नेपालीको भाग्यो ।

 

२०१२ देखि २०२० सम्म आइपुग्दा , अझै भनौं उहाँको सत्याग्रह पहिलो पटक देखि अहिलेको उन्नाइसौं पटक सम्म आइपुग्दा थुप्रै कागजी सहमतिहरु भए , केहीको सम्बोधन पनि भयो तर थुप्रै मागहरु मागमै सीमित छन् । न नेपाली लाजनिती डा. केसीको कुरा सुन्छ , न त डा. साब झुक्न नै मान्छन् । युद्ध चलिरहेछ । नितान्त , निरन्तर , विगत ८ वर्ष देखि अविरल बग्ने इन्द्रावती जस्तै !! कहिले शान्त शान्त त कहिले उर्लिएर । उर्लिएको बखत कहिलेकाहीं बाँधहरु बाँधिन खोजिन्छन् , शान्त बसेको बेला बनिरहेको बाँध बनाउन छोडिन्छ , फेरि उर्लियो फेरि बनाउन लागेजस्तो गर्छन् फेरि शान्त हुँदा बनाउन छोडिदिन्छन् । बिचरा स्वास्थ्यको बगर डुबानमा पर्न छोडेको छैन् ।

 

देशमा डा. केसी जस्ता बिज्ञ व्यक्तिहरूलाई बोलाएर स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन के गर्दा ठीक होला सोधेर त्यही अनुसार काम कुरा गर्नुपर्ने नेतृत्व हुनुपर्नेमा पुरै जनलहरका साथ ल यसो हुनपर्यो भन्दा समेत वास्ता नगरिनुलाई निकै नै लज्जाको विषय मान्न सकिन्छ ।

 

यदि डा. केसीको मागहरु साँच्चै नै गलत छन् भने उहाँ लगायत यस कुरा बोलिरहेका सबैलाई देशका जनतालाई भड्काउन खोजेको भनेर मुद्दा चलाएर , जेल हालेर कारबाही गरिदिनु पर्यो । होइन देशको स्वास्थ्य क्षेत्रमा सुधार आउने ठीक मागहरु छन् भने ढिला नगरी सुनुवाई गरिदिनुपर्छ । स्वास्थ्यका पछिपछि आफ्नो सुधारको पालो आउँछ कि भन्दै सुनुवाई कुरेर अन्य धेरै क्षेत्र कुरिरहेका छन् । राम्रो निर्णय लिन समय बर्बाद नगरौं होला की ?

 

अहिले धेरै कुरा देख्दा लाग्छ स्वास्थ्य क्षेत्र मात्रै नभएर सिंगो राष्ट्र नै डुब्दै छ । ब्रेक फेल भएको गाडिजस्तै कहिले कता पुगेर ठोक्किए दुघर्टना हुने हो थाहा छैन तर दुर्घटना निश्चित छ। तर कहिले काही हवाईजहाजमा पाइलट बीमार भए पनि यात्रुमा कोही प्लेन उडाउन जान्ने व्यक्ति भए सेफ ल्यान्डिङ हुन सक्छ। हरेक काला बादलमा समेत सेता घेरा हुन्छन् , निराशामा पनि थोरै आशा हुन्छ , अँध्यारोले उज्यालोलाई कहिल्यै जित्न सक्दैन। अहिले सम्म ढिला भएको छैन , तर सधैं ढिलो नहोला भन्ने हुँदैन। हाम्रो देश हामी मिलेर बनाऔं , देशलाई श्री पशुपतिनाथको भरोसामा नछोडौं ।