"प्रश्नहरू यथावत्"

आश लाग्छ कसैले त दिए हुन्थ्यो माया, जिन्दगी नै यस्तै मेरो घाम अनि छाँया ।

थाहा छैन के हो नाम, थर अनि घर,

मान्छेलाई नै देख्दा पनि किन सर्छन् पर...?

एकोहोरो मन मेरो न कोहीको सुन्छ,

कहिलेकाहिँ के सोच्छ खोइ भक्कानिदै मन रुन्छ ।

भगवानको प्रार्थनाले जन्म लिए पहिले,

शरीर होइन लाश बनी सुतीरा छु अहिले,

जाडो छेक्न कपडा छैन, भोकै हुन्छु कहिले,

आफूलाई प्रश्न सोध्छु "म को"भनी जहिले ।

ढुङ्गा हान्दै हुन्थे कहिले गीत गाउँदै हुन्थे,

दुःखि देखि कोही कोहिले खा भनी दिन्थे,

कहिले हिड्थेँ बोरा बोकी कहिले फोहोर थैला,

धुवाँ धूलो पसिनाले शरीर उस्तै मैला ।

टाढा टाढा भाग्छन् सबै आबुई! पागल भनी,

दुःखि हुँदै एक्लाएक्लै हिँड्छु निराश बनी

छ्या छ्या थु थु भनीकन हिँड्छन् सबले मलाई,

अजै कति बाँच्नु दैव यो मुटु जलाई ।

न छन् कोही आफ्ना मेरा न इष्टमित्र,

कालो दिनका कुराहरू जल्छन् मुटु भित्र,

आश लाग्छ कसैले त दिए हुन्थ्यो माया,

जिन्दगी नै यस्तै मेरो घाम अनि छाँया ।

           - पूजा राउत, (लमजुङ)

( विश्व मानसिक स्वास्थ्य दिवस,२०२०, १० अक्टोबर)