"मलाई स्वतन्त्र भएर बाँच्न त दे!"

जिन्दगी! ए जिन्दगी! जिन्दगी!

मलाई एकचोटी खुलेर हाँस्न त दे।

जिन्दगी! एकचोटी मलाई स्वतन्त्र भएर बाँच्न त दे

अहिलेनै किन रित्याउन खोज्छस्?

ए जिन्दगी! अहिलेनै किन रित्याउन खोज्छस्?

भोलिको लागि पनि त दुई थोपा आँसु साँच्न त दे।

मलाई एकचोटी खुलेर हाँस्न त दे

जिन्दगी! एकचोटी मलाई स्वतन्त्र भएर बाँच्न त दे।

 

समाज! ए समाज! समाज!

मलाई एकचोटी मेरा दिदीबहिनीहरुको रगताम्य वस्त्रहरु गन्न त दे।

समाज! एक मौका मलाई पुरुष जस्तै प्रधान बन्न त दे।

अधर्मी मलाई किन बनाउछस्?

ए समाज! अधर्मी मलाई किन बनाउछस्?

रगतको बलि माग्ने मन्दिरलाई अपवित्र अब भन्न त दे।

मलाई एकचोटी खुलेर हाँस्न त दे

समाज! एकचोटी मलाई स्वतन्त्र भएर बाँच्न त दे।

 

सरकार! ए सरकार! सरकार!

मलाई एकचोटी न्याय त दिलाई दे।

सरकार! एकचोटी मेरो अस्मिता लुट्नेलाई फेदैबाट गिराई त दे।

मलाई आशा मात्रै किन देखाउँछस्?

ए सरकार! मलाई आशा मात्रै किन देखाउँछस् ?

आनन्द हुन्थ्यो बरु मेरो पीडा नसुन्ने तेरो बहिरो कान अब सिलाइ त दे।

मलाई एकचोटी खुलेर हाँस्न त दे

सरकार! एकचोटी मलाई स्वतन्त्र भएर बाँच्न त दे।