"मानव मुकुटधारी राक्षस"

कयौं सम्झनाहरू प्रश्नको उत्तर खोजिरहेछन् म आफ्नो गति पछ्याइरहेछु ।

छोटा दिनहरू,

छिप्पिँदै गरेका रातहरू

रातसँगै मनमा पैदा हुने त्रासहरू

थाहा छैन यो समयको रफ्तार हो

वा

मलाई कहीँ पुग्न हतार ।

 

घडीको टकटक

अनि मुटुको धकधक

बाहिरसम्मै सुनिइरहेछ

पोलमा निर्मलाका तस्बिरहरू चिच्याइरहेछन्

कयौं सम्झनाहरू प्रश्नको उत्तर खोजिरहेछन्

म आफ्नो गति पछ्याइरहेछु ।

 

मानव आकृति देख्दा तर्सिन्छु

कुकुर देख्दा ढुक्क हुन्छु

पसिनापसिना हुँदै कोठासम्म पुग्छु

रातभर मनमा प्रश्न उत्तर खेलिरहन्छ ।

 

बिहान

पत्रपत्रिका हेर्दिन

सामाजिक सञ्जालको भित्ताहरू चिहाउँदिन

टिभी अन गर्दिन

र पनि

समाचारका हेडलाइन अनुमान लगाउन सक्छु

बुबाद्वारा छोरी बलात्कृत,

नातिद्वारा हजुरआमा,

आफन्तीबाटै भइन् यौन हिंसाको सिकार,

एक युवतीमा एसिड प्रहार !

 

कयौँ रोदनहरू कान वरपर गुन्जिन्छन्

शरीर लगलग काँप्छ

महिना दिन नपुगेकी बालिकादेखि

वृद्ध आमासम्मको तस्बिर मस्तिष्कमा नाच्छ

म केही सम्हालिन खोज्छु

अनि आफ्नो पुरानै दैनिकीतिर लाग्छु ।

 

मैले सबैभन्दा सुरक्षित महसुस गर्ने काखहरू,

अगाडि बढ्न सिकाउने हातहरू,

थकान बिसाउने काँधहरू

कतै उनीहरूमा पनि

मानव मुकुटधारी राक्षस त लुकेका छैनन् ?

 

म भयवित हुन्छु

बसको यात्रा गर्न डराउँछु,

म अत्तालिन्छु अनि

केहीबेर आफैंलाई बिसाउँछु !

 

मिनी स्कर्टदेखि कुर्ता लगाउने नारी,

डाइपरमा भएका नानी

कोही पनि त छोडिएका हैनन्

हुन त पुरुष पनि

यस्ता घटनाका सिकार नभएका हैनन्

तर पनि

बलात्कारीभन्दा बलात्कृतमाथि प्रश्न गरिन्छ

पीडितमाथि नै औंला उठाइन्छ

बारम्बार यो दर्दनाक घटना

उसकै कारणले भएको महसुस गराइन्छ ।

 

दोषीलाई लुकाइन्छ

पीडितलाई लाचार पारिन्छ

म स्वतन्त्र छु जस्तो देखाइन्छ

तर बन्धक हुन बाध्य पारिन्छ

उता कानुन आँखामा पट्टी बाँधेर बसिरहन्छ

उता कानुन आँखामा पट्टी बाँधेर हाँसिरहन्छ !