तिमी र म ।

तिम्रो र मेरो सह-अस्तित्व सहितको सुन्दर अनि सान्त समाजको निर्माण गरौं । तिमी र म सहयात्री हौ, आउ सहयात्रा गरौं ।

तिमी यानिकी महिला म मतलब पुरुष ,

न तिम्रो रहरले तिमी नारी भएर जन्मियौ,

न म नै मेरो रहरले पुरुष ।

आजकल तिमी र म बिचमा ठुलो द्वन्द चलेको छ ।

तिमी भन्छ्यौ बलात्कार पुरुषले गर्छ ,

म भन्छु बलात्कार बलात्कारिले गर्छ ।

तिमी भन्छ्यौ प्रत्येक पुरुष सम्भावित बलात्कारि हो,

म भन्छु तिम्रा बाबा तिम्रा दाजुभाइहरु पनि पुरुष नै हुन ।

यी र यस्तै सयौं आक्रोशहरु छन तिमी संग,

अनि म संग उति नै संख्यामा प्रतिबाधहरु ।

मलाई थाहा छ, आजभोलिका घटनाक्रमले बिचलित छ्यौ तिमी !

तर बिश्वास गर मलाई पनि पटक्कै चैन छैन ।

तिमी आफ्नो भविष्य असुरक्षित देख्दै छ्यौ,

तिम्रो असुरक्षित भविष्य संग मेरो भविष्य पनि त सुरक्षित छैन ।

किन थाहा छ ?

किनकि तिमी मेरि आमा हौ, दिदिबहिनी, श्रीमती, साथी,प्रेमिका हौ ।

त्यति मात्र कहाँ हो र तिमी त मैले पुज्ने देवी हौ ।

म तिमी बिनाको मेरो भविष्य कल्पना पनि गर्न सक्दिन ।

र सायद तिमी पनि म बिना बाच्न सक्दिनौ ।

तिमिलाई लाग्दैन ? हामी गलत कुरामा 

एक अर्का संग लडिरहेका छौं ।

तिमी मलाई अपराधी प्रमाणित गर्न चाहन्छ्यौ ,

अनि म आफुलाई निर्दोष साबित गर्न मै ब्यस्त छु ।

कतै हाम्रो यो जुहारीले ती अपराधीलाई 

अझ बल त प्रदान गर्दै छैन ?

 हामी दुवैले गम्भीरतापूर्वक सोचौं त ?

 हेर त हाम्रो उत्तर एउटै आयो नि हैन ?

 के अब पनि हामी एकाअर्कालाई दोष दिदै बस्ने ?

 तिमी आफ्ना लागि एक स्वतन्त्र र सुरक्षित भविस्य चाहन्छ्यौ ।

 म पनि तिम्रो सुरक्षित भविष्यको प्रत्याभूति गर्न चाहन्छु ।

 हो म लज्जित छु म जस्तै पुरुषहरु बाट भएका अपराधहरु प्रती ।

 म तिम्रो अभियानमा दरिलो सहयात्री बनेर यसको प्रायश्चित गर्न चाहन्छु ।

आउ हामी बिचको यो द्वन्द्व अन्त्य गरौं ।

तिमी र म मिलेर यी अपराधी र यिनिहरुको मानसिकता लाई जरैदेखि उखेलेर फ्याकाैं ।

तिम्रो र मेरो सह-अस्तित्व सहितको सुन्दर अनि सान्त समाजको निर्माण गरौं ।

तिमी र म सहयात्री हौ, आउ सहयात्रा गरौं ।

तिम्रो या मेरो मात्र होइन हामी सबैको सुरक्षित भविष्यका लागी ।

     - रामचन्द्र नेपाल