आऊ साथी खुलेर कुरा गरौँ

रुगाखोकीले छुँदा, ढाडकम्मर दुखेर रुँदा 'कुन अस्पताल राम्रो छ?' भनेर खोजिन्छ, 'अहिलेकस्तो छ ? ठीक भयो कि नाइँ साथी?' बारम्बार सोधिन्छ।

मानिसले जीवनमा सबैभन्दा धेरै गर्ने भनेकै कुरा हो। घरमा, स्कुलमा, अफिसमा, बाटोमा, काममा, साथीसँग होस् वा परिवारका सदस्य, अाफन्ती होस् वा केही छिनको यात्रामा भेटिने अपरिचित व्यक्ति नै सही, कसैको जन्म होस् वा मरण, हामी हर क्षण कुरा गरिरहन्छौँ। 

हामी देश र राजनीतिको कुरा गर्छौँ, हामी समाज र छरछिमेकको कुरा गर्छौँ, हामी थिति बेथितिको कुरा गर्छौँ, हामी जीवन र दर्शनको कुरा गर्छौँ, हामी दिन र उज्यालोको कुरा गर्छौँ, हामी दिनदिनभर, रातरातभर कुरा गर्छौँ। 

हामी अाफूलाई मन पर्ने कुरा एकछिन नबिसाइ गर्न सक्छौं, सुन्न सक्छौं, केही धक नमानी हर्षका कथा सुनाउँछौँ, उज्यालाका कुरा गर्छौं, अरुका पीडा वेदनाका पनि कुरा गर्छौँ, र अझ कहिलेकाहीँ त विचारविमर्श तर्क गर्छौँ। तर यी कुरा गरिरहँदा हामी प्राय अाफ्नै कुरा गर्न बिर्सिन्छौँ। हामी खुलेर अरुको बारे कुरा गरिरहँदा अाफैँलाई बाँधेर राख्छौँ। हामी उज्यालाका कुरा गरिरहँदा अाफैँलाई अन्धकारमा राख्छौँ। हामी कसैको स्वीकृतिबिना नै उसको मनको कुरा बाहिर फुकाइरहँदा अाफू भने मन गाँठो पारेर बसिरहन्छौ। हामी कसैको रहस्यको पर्खाल भत्काइरहँदा अाफ्नो मनको हुटहुटी अनि छट्पटी भने बन्द कोठामा कैद गरेर जीवन नै अँध्यारो हुनेगरि अाफैँसित राख्छौं।

हामी सफलताका कथा सुनाउन अातुर हुन्छौँ, हामी रमाइला क्षणहरुको कुरा गर्न हतास हुन्छौँ। खुसी हुँदा त प्रसन्नताका भावहरु मुहारमै झल्किन्छन्। अझ नजिकका साथीसङ्गीलाई त 'अाज म खुसी छु है' भनेर बताउनै पर्दैन। उनीहरु मुहारबाटै खुसी पढ्छन्, कारण बुझ्न चाहनेहरु अाफैँ प्रश्न गर्छन्। 

तर जबजब जीवनका बाटाहरु कठिन हुन्छन्, सफलता भन्दा असफलता बढी हात पर्छ, हिँडिरहँदा छिनछिनमै ठेस लाग्छ, अल्झन अाइपर्छ, बाटोहरु बिराइन्छ, सँगै हिँडेका साथहरु छुट्छन् त कहिले अाफ्नै मान्छे रुठ्छन् तब भने कुरा गरेर कहिल्यै नथाक्ने हामी त्यो बेला भने कुरा गर्न चाहदैनौँ। हामी अाफूलाई मौन बिसाइरहन्छौ तर मनमस्तिष्कमा भने भारले नराम्रोसँग थिचिरहेको हुन्छ। हामी अाफूलाई कमजोर देखाउन चाहदैनौ र केही हद सम्म सफल पनि हुन्छौं। बाहिर दुनियाँ सँग त जित्छौँ तर अाफैँसँगै हार्छौँ। एकान्तमा जलिरहन्छौँ, गलिरहन्छौँ। अाफैँसँग छल गर्छौँ। कपटी खोल अोढ्छौँ र खुसी भएको अभियन गरिरहन्छौँ। तर जब पर्दा बाहिर अाउँछौँ तब अाफूलाई सिथिल पाउँछौँ। 

उता भने मुहारको हाँसो सजिलै पढ्ने, 'खुसी छस् त साथी कारण के हो?'भनेर प्रश्न गर्ने, रमाइलोमा नाच्ने अनि घण्टौँसम्म कुरा गरेर नथाक्ने कहिलेकाहीँ स-सानो कुरामै चुक्छन्, 'ठीक छस् नि साथी?' यति सरल प्रश्न नगर्दा मुटु चस्किने कहानी मनभित्रै लुक्छन्। हाँसेको सबैले देख्छन्, रुदा कोठाका पर्खालले छेक्छन्। खुसी हुुदा साटिन्छ, पीर पर्दा ढाटिन्छ। रुगाखोकीले छुँदा, ढाडकम्मर दुखेर रुँदा 'कुन अस्पताल राम्रो छ?' भनेर खोजिन्छ, 'अहिलेकस्तो छ ? ठीक भयो कि नाइँ साथी?' बारम्बार सोधिन्छ। तर जब मन रुन्छ, मस्तिष्कमा केही कुराले नकारात्मक चक्र बुन्छ, जीवनमा उज्यालो नदेखेर अन्धकार अनि एकान्त रोजिन्छ, बाच्नु सार्थक नठानेर मृत्युका बाटाहरु खोजिन्छ तब भने न त कुराहरु खोलिन्छ न त सोधिन्छ। मृत्युले बोलाउनु अगि नै अन्त्यको बाटो रोजिन्छ। अनि मात्र किन मृत्युको बाटो रोज्यो होला भनेर खोजिन्छ।

त्यसैले त साथी ढिला हुनु पूर्व नै अाऊ खुलेर कुरा गर्यौ! अाऊ साथी सफलता असफलताका कुरा गरौँ, माया अनि विछोडका कुरा गरौँ, उज्यालो अनि अन्धकारको कुरा गरौ, हार अनि जितको कुरा गरौँ, हाँसो अनि रोदनको कुरा गरौँ, अाफ्नो कमजोरी अनि डरत्रासको कुरा गरौँ, तिमीमाथि हानि नकारात्मक सोचको कुरा गरौँ, मानसिक स्वास्थ्य अनि उपचार खोजको कुरा गरौँ। अाऊ साथी मनको गाँठो फुकाऊँ। अाऊ साथी अाफूलाई बिसाऊ। अाऊ साथी मानसिक रोगप्रतिको गलत धारणालाई हटाऊ। अाऊ साथी मानसिक स्वास्थ्य समस्याको बारेमा अरुलाई पनि बुझाअौँ। अाऊ साथी वृद्ध, अधबैंसे, बालबालिका सबै उमेर समूहका व्यक्तिको कुरा सुनेर बुझ्ने कोसिस गरौँ । अाऊ साथी हाँसोमा लुकेको पीडा बुझौँ। अाऊ साथी भ्रमको पर्दा हटाअौँ। अाऊ साथी सन्चोबिसन्चो सोधौँ। अाऊ साथी असफलताबाट नै जीवनको पाठ सिकौँ। अाऊ साथी जीवनक‍ो मोल बुझौँ।

-मुना मोहत्रा