अश्रुत वेदना

किन छुट्याए तिमी र मलाई, म र मेरि आमालाई, म र मेरि उनिलाई ! धेरै बेर भै सक्यो अब जाउ तिमी तिम्री आमा खोज्दै होलिन तिमिलाई ।

एउटा घोर्ले खसी उसकी बालापनकी सखी जो अहिले पनि बालक नै छिन मात्र 4 बर्षकि उनी संग भन्दै छ !

ए पुतली आज तिमी संग अन्तिम पटक कुरा गर्दै छु।

मेरो कुरा ध्यान दिएर सुन, अनि म 1/2 वटा काम दिन्छु, झर्को न मानी गर है ।

हेर कति चाँडै दुई बर्ष बितेछ,

जब म दुई बर्ष अघि तिम्रो घरको खाेरमा जन्मिएको थिए ।

तब तिमी पनि 2 बर्षकै थियौ ।

एकदमै चंचल ठ्याक्कै म जस्तै ।

सायद त्यही चंचलता थियोे जसले तिम्रो र मेरो मित्रता गरायो ।

म म्या म्या गर्दै अघि अघि कुद्थे, तिमी मेरो मुने म संग आउ न 

भन्दै मेरो पछिपछि दगुरेर आउथ्यौ ।

मलाई मन पर्ने सबै घाँस खोजीखोजी खुवाउथ्याै ।

यसरी नै बित्यो मेरो बालापन ।

म तिमी भन्दा छिट्टै वयस्क भए । तिमी भन्दा छिट्टाे छिट्टाे ठुलो हुँदा खुब रमाएकाे थिए ।

तर आज त्यो मेरो घमण्ड सम्झेर पछुतो लागिरहेछ ।

खैर,समयको खेल ।

घरमा सबै खुसी छन, तिमी पनि धेरै खुसी देखिन्छ्यौ ।

बाबाले तिमिलाई दसैंमा लाउन भनेर नयाँ जाम ल्याइदिनु भयो होला ।

पोहोर साल नयाँ जामा लगाएर मलाई देखाएकी थियौ नि ।

कति सुहाएको थियो तिमिलाई ,

यो बर्ष पनि त्यति नै राम्री देखिन्छ्याै होला ।

तर बिडम्बना नयाँ जामा लगाएर खुसी हुँदै यताउता दगुर्दै गरेकी तिमीलाई म देख्न पाउदिन ।

नयाँ लुगा लगाएर मलाई पनि सम्झनु है, स्वर्गबाट धर्ती देखिन्छ भन्छन ।

यदि साच्चै देखिदो रैछ भने म तिमी आँखा भरी हेर्नेछु ।

 

ए साच्चै, 

भोलि मलाई बलि दिनुभन्दा अघिनै मेरि आमालाई चराउन लग्नु भन्देउ है तिम्री आमालाई ,

मेरो घाटी छिन्दै गरेको देखिन भने उनको मुटु पनि चुट्टिने छ ।

बेलुकी चरन बाट आएर सोध्लिन, म परदेश गएको छु भन्दिनु ।

मेरो न्यास्राेले लुताउछिन होला, अनि लुते भैन भनेर तिम्रा बाबाले बेच्न खोज्लान ।

तर बिन्ती उनलाई बेच्न नदिनु ।

यहाँ पो तिमी छौ उनको हेरचाह गर्न, पराइको के टुङ्गो बेलामा घाँस पानी देलान न देलान ।

 

ए अनि अर्को कुरा ,

यहाँ संगै न भए पनि मेरि जुम्ल्याहा बहिनीले कुनै न कुनै दिन म संसारमा नरहेको खबर पाउनेछिन ।

तिम्रो बाबाले बेचेको घरमा गएर उनलाई सान्त्वना दिनु है ।

 

अनि सुनन एउटा कुरा भन्छु न रिसाउ है ?

तिमिलाई पहिलै सुनाउन चाहन्थे तर सकिन किन किन लाज लाग्यो ।

तिम्रो छिमेकि घरमा पालेका छन हो उनी मेरि प्रेमिका हुन ।

मेरो मृत्युको खबरले छट्पटाउछिन होला ।

तिम्रो साथी भुन्टेलाई उनलाई मिठो मिठाे घाँस खोले दिन भन्देउ है, त्यता भुलिन भने उनको पिडा केही कम हुनेछ ।

मेरो यत्ति काम गर्देउ न है ।

ए साच्चै भावनामा बहकिएर एउटा कुरा भन्न झण्डै भुलेछु ।

तिमिलाई दसैंकाे धेरै धेरै शुभकामना । संधै खुसी हुनु , हाँसिरहनु ।

अनि तिम्री आमाले मेरो मटन ... के के पकाउछिन ।

सबै टन्न अघाउन्जेल खानु है ।

मलाई तिमिले धेरै गुन लगाएकी छ्याै , आजसम्म मिठाे मिठाे घाँस खुवाएर म जस्तो पशुलाई आफ्नो मित्र बनाएर ।

यतिमात्र कहाँ हो र , तिमिले त मलाई मेरो मृत्यु पर्यन्त गुन लगाइ रहने छ्याै मेरि आमाको रेखदेख हेरचाह गरेर । 

सुनेको छु बलि दिइएका हामिजस्ता पशु स्वर्ग जान्छ्न रे !

म त्यहाँ भगवान संग पनि तिमी र हाम्रो मित्रताको चर्चा गर्नेछु ।

भगवान संग एउटा प्रश्न पनि सोध्नेछु ?

म अनि म जस्तै अरु निर्दोष पशुहरुकाे बलि किन माग्छन उनी ? 

किन छुट्याए तिमी र मलाई, म र मेरि आमालाई, म र मेरि उनिलाई !

धेरै बेर भै सक्यो अब जाउ तिमी तिम्री आमा खोज्दै होलिन तिमिलाई ।

अलबिदा सखी ।

                                 रामचन्द्र नेपाल 

                                 झापा, नेपाल ।