कोरोना दसैं

हामीले हिड्ने सबै बाटाहरुमा सहज हुन्छन् भन्ने छैन । हिडिरहँदा कहिले काहीँ नसोचेको अवरोधहरु अाइपर्छन्।

जीवन एक निश्चित बिन्दुमा गएर रोकिन्छ। सुन्दा मात्र पनि अति भयावह र कहालीलाग्दो 'मृत्युु' नै जीवनको शाश्वत सत्य हो। हामी सबैको अन्तिम गन्तव्य हो। मृत्यु कतिबेला अाउँछ, कसरी अाउँछ थाहा छैन तर हामी चाहेर होस् वा नचाहँदा नचाहँदै पनि एकदिन अवश्य मर्छौँ। मृत्यु जीवनको भाग न हो। जीवन एक फगत यात्रा न हो। तर त्यो निश्चित गन्तव्यमा पुग्नकै लागि हामीले जीवनका अनिश्चित यात्राहरु तय गर्नुपर्ने हुन्छ। हामीले जीवनका उकाली अोराली, कठिनाइ पार गर्नु पर्ने हुन्छ।

हामीले हिड्ने सबै बाटाहरुमा सहज हुन्छन् भन्ने छैन । हिडिरहँदा कहिले काहीँ नसोचेको अवरोधहरु अाइपर्छन्। अवरोध अाइपर्यो भन्द‌ैमा हिडिसकेको बाटो पुन फर्केर जाने कुरा पनि त हुँदैन। त्यस्तै अाफूलाई रोकिराख्नु पनि त उचित हैन। हामीले ती अवरोधहरुको सामाना गर्नुपर्ने हुन्छ। अवरोधहरु पार गर्न सकिन्छ सकिन्न थाहा छैन तर प्रयास निरन्तर जारी रहन्छ। अहिलेको अवस्थामा अवरोध बनेर अाएको छ कोरोना प्रकोप। यसले धेरैको जीवन कठिन बनाएको छ। तर पनि प्रयत्न एवम् सङ्घर्ष निरन्तर जारी छ। सास रहुन्जेल अाश त हुन्छ नै !

हामी अहिले कोराना भाइरसबाट उत्पन्न असामान्य परिस्थितिमा छौँ। तर समय अाफ्नै गतिमा दौडिरहेको छ। समयलाई के रोग, के भोग, के शोक? हेर्दाहेर्दै हिन्दु नेपालीहरुको विशेष महत्त्व राख्ने चाड विजया दशमीको अगामन भैसकेको छ। दसैँ त घरघरमा अाइसकेको छ तर दसैं सँगै अाउने हर्ष उल्लास भने कतै छुटेछ क्यारे! 

बिना मेरो घर नजिकैकि छिमेकी बहिनी हो। उसको उमेर यस्तै एघार बाह्र वर्षको हुनुपर्छ। उसको सबैभन्दा मन पर्ने चाड नै दसैं हो। दसैंको समय त हो जहाँ धन कमाउन परदेशिएका बिनाका बुबा वर्षको एकपटक घर फर्किन्छन्। बिनाका बुबा दसैं लागेसी घर फर्किन्छन् तर बिनालाई अाफ्ना बुबा घर अाए पछि दसैँ लाग्छ। यो पटक दसैंमा भने बिनाका बुबा घर अाएनन्। उनले अाफ्नो घरपरिवारको लागि केवल कोसेली पठाए। बुबा घर अाएको भोलिपल्ट खुसी हुँदै मिठाइको पोको लिएर टोलछिमेकमा बाड्न हिड्ने बिनाको लागि बाबा बिनाको मिठाइले मिठास ल्याउन सकेन।

रामलाल काकालाई अाजभोलि अक्सर उदास मुहार लिएर पिपलबोट चौपारीमा बसेको देखिन्छ। ज्यालादारी गरेर अाफ्नो पाँच जना परिवारको पेट पाल्ने रामलाल काकालाई कोरोनाले बिहानबेलुका छाक टार्न पनि मुस्किल भएको छ। लकडाउनको बेला त झन् उनलाई अरुको घरघरमा मागेर खानुपर्ने अवस्था अायो रे। पछि टोलको युवा समूहले थोरै अार्थिक सहयोग गरेछ। हातमा समातेको बीस रुपियाँको नोट देखाउँदै उनले मलिन स्वरमा भनेका थिए," गरिबलाई त रोगले भन्दा पहिला भोकले मार्ने भो। बिहान देखिको कमाइ यहीँ बीस रुपियाँ हो। यसले त नुन पनि अाउँदैन। दसैँ अाइसक्यो मीठोमिसिनो खाउला भन्ने त अाश नै छैन, एक छाक भए पनि छोराछोरीको पेट भर्दिनु पाए हुन्थ्यो।" बसको हर्न सुनेपछि अाँखाको टिलपिल अाँशु पुछ्दै रामलाल काका भारी पाउने अाशले गाडीतिर दौडे। 

रित्तो रित्तो गाडीलाई देखेपछि चौपारीमा बसेका अर्का एकजना भरिया बोले," यो समय त लाहुरेहरु टनाटन भारी लिएर गाउँघर छिर्ने बेला हो। अगिल्लो वर्षसम्म त भारी बोक्नको भ्याइनभ्याई हुन्थ्यो। लाहुरेलाई दसैँ नलागेसी हामी गरिबलाई के दसैँ लाम्छ र !"

सुमिता पेशाले नर्स हो। ऊ अहिले कोभिड सङ्क्रमितहरुको उपचारमा तल्लीन छे। महिनावारीको समयमा 'मेफटल' बिना अडिन नसक्ने ऊ अहिलेभने कोभिड बिरामीहरुको सेवामा दिनरात , भोकप्यास केही नभनी, भतभती पोल्ने गर्मीमा पिपिइ सेटमा एक्सट्रा अावर ड्युटी गरिरहेकी छे। सुमिताको लागि बिरामीको सेवा नै उसको धर्म हो। भिडियो कलमा उसका निधारका दागहरु छरपस्ट देख्न सकिन्थे। यो उसले युद्धमा पाएको खत हो। "समयमा शौचालय जानुु पनि छैन," सुमिताले गुनासो पोख्दै थिई। उसँगको कुराकानी अनि ठाउँठाउँमा डाक्टर नर्स कुटिएको खबरले मनमा चिसो पसेको थियो। यो दसैं भरि पनि सुमिताको ड्युटी कोभिड वार्डमा परेको छ। यता अान्टी भन्दै हुनुहुन्थ्यो," छोरी साथमा नभएपछि हामीलाई के को दसैँ, के को हर्ष !"

अाकाश दाइको फेन्सी पसल छ। लकडाउनको तीनचार महिना त व्यापार पुरै ठप्प नै रह्यो। 'अहिले व्यापार कस्तो छ दाइ?", मेरो यो प्रश्नको उत्तरमा दाइको जवाफ थियो," अगिल्लो वर्षको तुलानामा त अहिले व्यापार नै छैन भन्दा हुन्छ। २,४ महिना पसल पुरै बन्द रह्यो। अहिलेसम्म पनि सटरको भाडा तिर्न सकेको छैन। अहिले अलिअलि ग्राहकहरु अाउँछन्। केही नहुनुभन्दा दिनको हजार, दुईहजार भए पनि समात्नु पाइएको छ। पहिला लकडाउनमा भोकले मरिन्छ जस्तो लाग्यो, अहिले रोगले। अाजभोलि न सोसियल डिस्ट्यानसिङ्ग छ न मास्कको प्रयोग नै। केही भन्यो ग्राहक रिसाउलान् भन्ने डर। प्रतिस्पर्धा चलिरहेको छ भोकले पहिला लैजाने कि रोगले।" 

साने दसैंमा बुबा अाउने खबरले हर्षित थियो। काकी पनि निकै प्रसन्न देखिन्थिन्। काका देशभित्रै भए पनि व्यापारको क्रममा गाउँबाट टाढा सहर छिरेका थिए। धेरै ग्राहकको सम्पर्कमा रहनुपर्ने भएकाले उनी गाउँ अाउनुपूर्व पिसिअार जाँच गर्न दिएका रहेछन्। घरमा अाएको दिन पनि उनी सेल्फ अाइसोलेसनमै बसे। भोलिपल्ट उनको टेस्ट पोजेटिभ भनेर मोबाइलमा म्यासेज अायो। साने, काका अनि काकी एउटै घरमा त छन् तर पनि टाढा छन्। दसैं अायो, बा अाए तर सानेको खुसी अाएन।

हातमा नाम्लो लिएर काममा जान लागेका जेठा बा अाफूलाई कुनै पार्टीको सक्रिय कार्यकता बताउने शिवहरिलाई देखिपछि अाक्रोशीत हुँदै बोले," सर्वहारा दुईतिहाइको सरकारले सर्वहारा गरिब जनता मरे पनि मर भनेर छोड्यो रे त? बिहानबेलुका पेट भर्न नसक्ने हामीजस्ता गरिबले उपचारको लागि पचास हजार, एक लाख कसरी ल्याउनु? गरिब त अाखिर जसरी पनि मर्ने नै हो।" शिवहरि नसुनेजस्तो गरेर लुसुक्क अाफ्नो बाटो लाग्यो।

पात्रहरु धेरै होलान् तर कहानी प्रायको उहीँ छ। अहिलेको परिस्थिति धेरैको लागि कठिन छ। गरिबलाई दैनिक छाक टार्न मुस्किल छ। महङ्गीले अाकाश छोएको छ। भ्रष्टचार अनि लुटतन्त्र छ्याप्छ्याप्ती छ। न त उपभोक्ता मन्च केही बोल्छ न त बजार अनुगमन निकाय नै। रोग, भोक अनि त्रास व्याप्त छ। 

दसैँ भन्नासाथ धन कमाउन गएकाहरु पनि गाउँघर फर्किन्छन् तर अहिलेको अवस्थामा कमाइ नभएपछि दसैँको मुखमा गाउँमा भएकाहरु पनि परदेशिन बाध्य छन्। गाउँहरु रित्तो छन्, अाकाशहरु खाली छन्, ठ्याक्कै शून्य अनि रित्तो हाम्रो मन जस्तै। खैया बजैको रेडियोमा गीत बजिरहेको छ, "कसैलाई त रङ्ग र रसैको,

दसैँ दशा भयो कसैको !"