दशैँ बारे लोकमान्यताहरु

दुर्गा माताद्वारा दैत्यको संघार भएपश्चात् त्यो अन्याय र अत्याचार अन्त्य भई असत्यमाथि सत्यको विजय भएको उत्सवको रूपमा मनाइने

नेपालको राष्ट्रिय चाडको रूपमा रहेको दशैं सामाजिक तथा पारिवारिक पुनर्मिलनको चाड हो जसले नेपाली जनजीवनमा ठुलो महत्व राख्दछ । वर्षा ऋतुको अन्त्य भएर शरद्को आगमनले हाम्रो विशेष चाड बडादशैँ मा नयाँ रौनक छर्छ। दुर्गा माताद्वारा दैत्यको संघार भएपश्चात् त्यो अन्याय र अत्याचार अन्त्य भई असत्यमाथि सत्यको विजय भएको उत्सवको रूपमा मनाइने यस राष्ट्रिय चाडले सम्पूर्ण नेपालीहरूको घरमा सुख, शान्ति र खुसी ल्याउँछ ।

वर्तमान को विषम परिस्थिति सहित समाजिक सद्भाव र राष्ट्रिय एकताले आगाडि बढ्नुछ । पारिवारिक पुनर्मिलनको चाड दशैँ लागिसक्यो । नेपाली समाजको संवेदना जोडिएको यस चाड परापूर्वक कालदेखिनै मनाइदैं आइएको छ । दशैँ किन मनाइन्छ? यो बारेमा विभिन्न लोकमान्यताहरु छन् । बडादशैँ प्रारम्भबारे परिचित हौँ । 

परापूर्वक कालमा शुम्भ, निशुम्भ, महिषासुर, रक्तबिज, दुर्ग जस्ता दैत्यहरूले देवता तथा मानवलाई धेरै सताए । ति दानवहरूको अन्याय सहन गर्न नसकेर हैरान भएका देवीदेवताहरूले ति दैत्य/ राक्षसलाई निर्मूल (बध) गर्न दुर्गा भवानीको पूजा गरे । यसरी देवताहरू बाटै दैत्यको वध गर्न आग्रह गरेपश्चात् दुर्गाले दैत्यको संहार गरिन । यसपछि अन्याय, अत्याचार को अन्त्य भई असत्य माथि सत्यको विजय भएको महाउत्सवका रूपमा दशैं मनाइने मान्यता रहेको पाइन्छ। 

दशैं सम्बन्धी अर्को पनि लोकमान्यता छ। त्रेतायुगमा रामले आश्विन शुक्ल प्रतिपदाको दिन दुर्गा भवानीको पुजा र घटस्थापना गरी दशमीका दिन उनै दुर्गा भवानीको कृपाले रावण जस्तो दैत्यको वध गरी असत्य माथि सत्यको विजय भएको महाउत्सवका रूपमा दशैं मनाइने मान्यता रहेको पाइन्छ।