मेरो प्रेम कथा : भाग १

आज विजया दशमी। सम्पूर्णलाई विजया दशमीको हार्दिक मंगलमय शुभकामना। अाज बडा दशैंको महत्वपूर्ण दिन, निकै रमझम, भब्य तयारी र टिका , जमरा लाउनमा ब्यस्त हजुरहरुलाई यस्तो उमङ्गले भरिएको दिनमा मेरो अनौठो कथा सुन्ने फुर्सत नहोला, तर भावनामा लिप्त भएर म मेरो जीवनको प्रेम कथा कलमको माध्यमबाट बयान गर्नबाट आफूलाई रेक्न सकिन।

आज विजया दशमीको दिन म सेतो सारीमा उभिएर रातो टिकालाई टोलाएर हेर्दै छु। यही टिकाको दिनदेखि मेरो आँखाले नदेखेका सपनाहरु पनि पूरा हुन थालेका थिए भने यही दिन , मेरो मस्तिस्कले सोच्न पनि नसकेका हृदयघाटी घटनाहरु घटेका थिए। दिन उही, समय उही, तर भाग्य फरक।

म बाह्र वर्षको उमेरमा ६ कक्षामा पढ्थें। एक दिन विद्यालयको कक्षा सकाएर म मेरो कक्षाकोठाको साथीसंगै घर फर्किँदै थिए। कक्षाकोठा एउटै भए तापनि हाम्रो राम्रो बोलचाल भने थिएन। घर फर्किने समयमात्र घर जाने बाटो एउटै परेकोले हामी संगै पर्थ्यौं। म र मेरो साथी आकाशको जुन हेर्दै हिँडिरहेका थियौं। त्यो दिन दिउँसै जुन देखिएको थियो। आकाशमा हेर्दै हिँडेकी मैले ढल आइपुगेको देखिँन र म ढलमा लडें। म लडेको देखेर मेरो साथी हाँस्न थाल्यो। ऊ एकछिन पेट मिचिमिची हाँसिरह्यो। म रिसले उसलाई हेरिरहेँ। एकछिनपछि उसले आफ्नो हात अगाडि बढायो र मलाई तानेर बाहिर निकाल्यो।

"एकछिन अघिसम्म त मरिमरी हाँसिराथ्यौ, पछिफेरी मलाई किन मद्दत गर्यौ? मलाई त्यतिकै छाडेर जानुपर्थ्यो नि" मैले रिसले कराएँ। मेरो कुरा सुनेर उसले भन्यो, " हाँसो त मेरो नियन्त्रणमा थिएन, हाँस्छु भनेर हाँसेको होइन, त्यो त दृश्य देखेपछि आफै आउँछ। तर, हाँस्न सकेपछि तिमीलाई मद्दत गर्ने कि नगर्ने भन्ने कुर चाहीँ मेरो हातमा थियो। साथी भएर तिम्रो मद्दत गर्नु मेरो कर्तव्य थियो, त्यसैले मैले आफ्नो कर्तव्य निभाएँ। "कति ठूलो ठूलो कुरा गर्छौ" मैले थपें।"अँ.., मेरो बुबाबाट सिकेको" उसले भन्यो।

एकछिन हिँडेपछि धारा आइपुग्यो, मेरो अनुहार र कपडा सफा गर्न हामी धारातिर गयौं। मैले चिसो पानीले छ्याप छ्याप गरी अनुहार धोइरहँदा उसले ठूलो मुस्कान दिँदै मलाई हेरिरह्यो। मलाई भने आफू लडेको कुरामा रिस उठिरहेको थियो। म केही नबोली रिसै रिसमा घर पुगें।

घरमा बुबा आमासँग रमाइलो कुरा गरिरहनु भएको रहेछ। "म तिमीलाई यसपालीको दशैंमा नयाँ सारी किनेर दिन्छु, टोलभरिकै सुन्दरी तिमी हुनेछौ" बुबाले अामालाई भन्नुभयो। "आ...दशैंमा त सबैले राम्रो लाउँछन्, कति न मैले मात्र लगाउने जस्तो टोलभरिमै म सुन्दरी हुन्छु रे!" आमाले भन्नुभयो। "अरुको के मतलब, मेरो नजरमा तिमी नै सबैभन्दा राम्री भए पुगेन तिमीलाई?" बुवाले जवाफ दिनुभयो, आमा मुसुक्क हाँस्नुभयो। आमाबुवाको मीठो कुराकानी सुनेर मेरो रिस हरायो। भविष्यमा आफ्नो श्रीमानसँग यसरी नै जिस्किने सपना सजाएर म मेरो कोठातिर लागें।

थकाई लागेकाले म एकछिन पल्टिन खातमा चढें। पल्टिएर आँखा बन्द गर्दा अघि धारामा मुख धुँदा अभिनव मुस्कुराएर मलाई हेरिरहेको सम्झें। उसको त्यो अनुहार किन मेरो आँखा अगाडि आइरह्यो मलाई थाहा नै भएन।

म खाजा खान भनी उठेर हिँडें। भाइले केरा खाएर बोक्रा भुइँमै फालेको रहेछ, त्यसमा चिप्लिपर म लडें। सकीनसकी उठ्न खोज्दा अघि लड्दा अभिनवले बढाएको हात याद आयो। अहिले लड्दा उठाउने कोही छैन, किन अभिनवलाई सम्झनु भन्दै म उठें र खाजा खान गएँ।

भोलीपल्ट विद्यालयमा खाजा खाने समयमा म हात मुख धुन धारातिर गएँ। मैले मुख धोइरहँदा पछाडीबाट कसैले मेरो कपाल बेस्सरी तान्यो। म रिसाएर "अभिनव के गरेको ? भन्दै पछाडी फर्कें। पछाडी अभिनव थिएन, रिसले अनुहार बिगारेर पाँचजना केटाहरुले मलाई घेरिरहेका थिए। क्रमश...