मेरो प्रेम कथा: भाग २

ती केटाहरु मेरै कक्षाकोठाका थिए। आँखा राता, राता, हातमा मोटो लट्ठी र अनुहार नमज्जाले बिगारिएका। म डरले काम्न थालें। मैले यता, उता हेरें, परको अरुन सरलाई आवाज दिएँ, "सर, हेर्नुस् न, यी केटाहरु मलाई कुट्न आएका छन्।" केटाहरुले पछाडी फर्केर अरुन सरलाई हेरे। सरसम्म मेरो आवाज त पुगेको थिएन तर म चाँही त्याहाँबाट भाग्न सफल भएँ।

म डौडेर गएँ र हतार हतारमा यो कुरा अभिनवलाई बताएँ। "हिजो रमेशले कक्षाकोठामै गृहकार्य गरेको मैले सरलाई भनिदिएकी थिएँ। सरले रमेशलाई नमज्जाले कुट्नु भएको थियो। आज त्यही रिसमा चारजना केटाहरु लिएर मलाई कुट्न आएको।" अभिनव चिन्तित देखिन्थ्यो। "तिमीलाई केही त भएन नी?" "अहँ " मैले टाउको हल्लाएँ। "अाऊ, हिँड।" अभिनवले मेरो हात समात्यो र ऊ मेरो अघि अघि हिँड्न थाल्यो। "नाइँ के, म जान्न त्यहाँ! मलाई देखे भने मसँगै तिमीलाई पनि कुट्छन।। मलाई धेरै डर लागेको छ। छोड न अभिनव, नजाने त्यहाँ।" " होइन, कहिलेसम्म डराएर बस्छौ र?" उसले केवल यति भन्यो र केही नबोली खुरुखुरु मलाई लैजाँदै गर्यो। चुप लागेर हिँड्नु बाहेक मसँग विकल्प थिएन र अचम्म, उसले मलाई प्रधानअध्यापकको कक्षमा पो लग्यो। प्रधानअध्यापकलाई सबै कुरा उसैले भन्यो, मानौं मेरो पक्षमा ऊ वकिल बनेर बोलिरहेको थियो। प्रधानअध्यापकले ती केटाहरुलाई बोलाएर चेतावनी दिनुभयो र म ढुक्क भएँ।

खाजाको समय सकेपछि गणित विषयको कक्षा थियो। धत्तेरी, मैले त गृहकार्य गरेको कापी नै ल्याउन बिर्सें। सर गृहकार्य हेर्दै आउनुभयो। मैले डरले सरलाई हेरी रहें। सरले मेरो डेस्कमा हेर्नुभयो र खुरुखुरु अगाडि बढ्नु भयो। मैले अचम्म भएर डेस्कमा हेरें, त्यहाँ अभिनवको कापी रहेछ। कापीमा नाम थिएन ,तर अक्षरबाट उसको कापी भनेर मैले चिनें। अब गृहकार्य देखाउने अभिनवको पालो थियो। "ला...अभिनवले अब कुटाइ खान्छ" मलाई चिन्ता लाग्न थाल्यो तर अचम्म उसले पनि गृहकार्य देखायो र सरको गृहकार्य हेर्ने काम सकियो।

कक्षा सकेर मैले अभिनवलाई गृहकार्य कापीको बारे सोधें।सोध्ने बित्तिकै केही भन्ने भए त मलाई किन रिस उठ्यो र? रिसले बोल्न नछोडेसम्म उसको मुखबाट बोली छुट्दैन थियो। म मुख फुलाएर हिँड्न थालेपछि बल्ल उसले भन्यो,"आज मात्र होइन, मसँग आजसम्मको हरेक दिनको गृहकार्यको दुइ दुइवटा कापी छन्। एउटा मेरो लागि र अर्को यदि तिमीले बिर्सियौ भने तिम्रो लागि भनेर हरेक दिन दुइवटा कापीमा गृहकार्य गर्छु।" उसले झोला देखायो जसबाट उसको बोली सत्य रहेको प्रमाण पाएँ। मैले केही बोल्न सकिन। म टोलाएर उभिरहेँ। म टोलाउँदै गरेको देखेर उसले मेरो हातमा प्यात्त पिट्यो र हाँस्दै भन्यो," यति धेरै मख्ख पनि पर्नु पर्दैन। यस्तो केही होइन, जिस्केको मात्र। यो त म आफ्नै लागि गर्छु। दुइपटक गरेपछि अक्षर पनि राम्रो हुन्छ र लेखेको कुरा पनि याद हुन्छ। त्यसैले त म सधैं हेण्डराइटिङ्ग कम्पिटिसनमा फस्ट हुन्छु नि।" उसले धाक देखाउँदै भन्न थाल्यो। म केही नबोली चुप लागेर हिँडे।

मलाई चित्र कोर्न एकदम मनपर्थ्यो। मेरो कक्षाकोठा भरि नै चित्र कोर्ने मै मात्र थिए। एउटा राम्रो चित्र कोरेर प्रदर्शनको लागि पठाउने अन्तिम मिति थियो। म कक्षामा बसेर आफ्नो चित्र पूरा गर्दै थिएँ, "ला.." कालो रङ्को साइनपेनले काम गर्न छोड्यो। मैले के गर्ने अब भनी उपाए सोच्न थालेँ। अहिलेसम्म सबै समस्याबाट मुक्त गर्दै आएको अभिनवलाई सम्झेँ। अभिनव त कक्षाकोठामा थिएन तर म विस्तारै उसको झोला तिर अघि बढेँ। मैले उसको झोला खोलेर रँग खोज्न थालेँ। अभिनवले चित्र चाहीँ कहिल्यै कोर्दैन भन्ने मलाई थाहा थियो। रँग सकेको बेला उसको झोलामा खोज्नु मुर्खता हो भनेर पूरै कक्षालाई थाहा थियो। तर खै किन मेरो मनले उसँग रँग छ भनिरह्यो र मेरो मनले झुटो बोलेको रहेनछ, मैले रँगको नयाँ प्याकेट उसको झोलामा भेटाएँ। यसबारे उसलाई सोध्न मन थियो, तर फेरी सोचेँ कि उसले केही न केही बाहाना अवश्य बनाउँछ। उसको बाहाना सुनेर मेरो नाच्न थालेको हृदयलाई शान्त पार्न मन थिएन मलाई। त्यो मेरै लागि हो, अन्य कारणको लागि होइन भन्ने नै सोचिरहन मन थियो जसकारण मैले उसलाई यसबारे सोधिन।

अाफ्नो हरेक समस्यमा अभिनवको साथ पाउन थालेकी थिएँ। मनका चिन्ताहरु अभिनवप्रतिको विश्वासमा परिवर्तन हुँदै थियो। केही भयो भने अभिनव छ भन्ने भइसकेको थियो। म निकै खुसी थिएँ। कक्षाकोठा छिर्ने बित्तिकै मेरो नजरले अभिनवलाई खोज्न थालेको थियो।

एकदिन अभिनव विद्यालय अाएन। मलाई नभनी नआएकोले अर्को दिन उसँग खुब रिसाउँछु सोचेकी थिएँ। अभिनव अर्को दिन पनि आएन। एक हप्ता बित्यो, अभिनव आउँदै आएन । १० दिनपछि अभिनवले विद्यालय छोडिसकेको खबर आयो। क्रमश...