नि:स्वार्थ माया घरपालुवा जनावरहरूको लागि

म कुनै जनावरको हिंसा र मृत्यु सहन गर्न सक्दिन । मैले सिकेको गुण भनेको सेवाभाव र प्रेम हो।

त्यो प्रगाढ माया, आँखा चिम्लदा पनि जगजगी छ; आँखा उघार्दा पनि । जीवनको एउटा हिस्सा बनिसके ति पाल्नु जनावर मानौं कि ति मेरो शरीरको कुनै एक अङ्ग हुन् । जाबो आफैं पेट पाल्न सक्ने भुस्याहा जनावरलाई पाल्न परेको, के दिन्छन् र यिनले? कुकुर, बिरालो त फोहोरी हुन्छन् । यस्तै यस्तै सुन्दा लाग्छ कि यहाँ मानवको सभ्यता मर्दैछ । हुनत दिनहुँ प्रकृतिले उब्जाएको धानको भात सगैँ कर्म गरेर खानका लागि भगवानले दिएका हातले मारिएको जीवनसँग मुछेर खानेहरूलाई के थाहा जनावरको माया ।

बेवारिसे जनावरलाई "धोबीको कुकुर घर र घाटको" सोच्नेहरू; अरे तिमी त मानव हौ, नैतिक गुण छ तिमीमा, सक्छौ घरमा ल्याएर पाल सक्दैनौ हेला पनि नगर ।

कामको शिलशिलामा मेरो साथी (जेबिश अधिकारी) सिन्धुपाल्चोक गएको थियो । फर्कदा एउटा बेबारिसे कुकुर फेला पार्‍यो बाटोमा अनि घर ल्याएर पाल्यो । अहिले ऊ त्यस कुकुरको औधी माया लाग्ने बताउँछ। उसले घरमा एउटा बिरालो (Suri) समेत पालेको छ ।

थाहा छ कि मृत भइरहेछ संवेदना । बन्दी बन्दैछ करूणा अनि सङ्कटमा परिरहेछ मानवता । मनुष्य अचेल अर्काको दुःखमा दुख्दैन; आँसुमा भिज्दैन; वेदनाले छट्पटाउँदैन; शोकले स्तब्ध हुँदैन । कठै स्वार्थी र निष्ठुरी सोच ।

 तर कयौंका रगरगमा जीवीत छन् यि कुराहरू र माथिको घटना एउटा ज्वलन्त उदाहरण हो।

यहाँ कुरा चलिरहेछ घरपालुवा जनावरको बारेमा ( pet animals) l कोहि सोखले पाल्छन्, कोहि रहरले, कोहि बाध्यताले ।

बिरालो पालेपछि उसले मुसा खाइदिएर घरको अन्नपात जोगाइदिन्छ । कुकुर पालेपछि चोर देखी सावधान गराइदिन्छ । यो तपाईंलाई उनीहरूले उपकार गरेको होइन, यो तपाईंले उनीहरूलाई दिएको मायाको फल होइन । यो उनीहरूको कर्तव्य हो र बानि हो ।

घरपालुवा जनावरहरूले हामीलाई त्याग र समपर्ण सिकाउँछन् । तिनीहरूका लागि हाम्रो नि:स्वार्थ माया ले हामीलाई जीउन सिकाँउछ । बाँच्ने आधार बनिदिन्छन् । त्यसैले त उनीहरूको टाढापन हामी सहन गर्न सक्दैनौं । मेरो एकजना साथी ( मनोज उप्रेती) को एउटा बिरालो ( Sheili) ले उहाँको बोर्ड परीक्षाको समयमा देह त्यग गर्‍यो । त्यहाँ नि:स्वार्थ प्रेम थियो, एकता र समभाव थिए। यो परिस्थितिले उहाँलाई विपन्न बनायो, मानसिक तनाव दियो। उहाँले Sheili सँगसगै एउटा कुकुर ( Tyrion) पनि पाल्नुभएको थियो । ति दुई खुब मिल्थे ।

अश्विनलेआफ्नो भन्दा बढी माया गरेर पालेको कुकुर( Summer) हराउँदा  उसलाई कम्ती चिन्ता परेन । 

जनावरहरूकै शोकले स्तब्ध बनाउने क्षणमा एकोहोरिन्छु म । के हो यो; किन यस्तो हुन्छ, यस्तो शुद्ध माया के का लागि । आखिर तिनले आफ्नो वशमा पारिछाड्छन् । मलाई मेरो मुनु (बिरालो) औधी प्यारो लाग्छ । एकछिन नदेख्दा आत्तिहाल्छु । पाउनु मैले केही छैन तरपनि उसको मायामा समर्पित भई आफ्नो नैतिक कर्तव्य पूरा गर्नमा रमाउँछु म ।

यिनिहरूबाट केही आशा छैन, मलाई त एकतर्फी माया गर्न पाए पनि आनन्द! बाटोमा भेटेका कुकुरहरू को पनि असाध्यै माया लाग्छ । म कुनै जनावरको हिंसा र मृत्यु सहन गर्न सक्दिन । मैले सिकेको गुण भनेको सेवाभाव र प्रेम हो। जाबो जनावर... भन्नेहरुको जमात देख्दा टीठ लाग्छ । 

सन्तान नभएका अभिभावकले जनावरलाई नै आफ्नो सन्तान मानेर माया गरेको सुन्दा एकदम खुसी लाग्छ । खुसी त त्यतिबेला हुन्छु जब आफुजस्तै घरपालुवा जनावरहरूलाई माया गर्ने साथीहरू पाँउछु । 

यसो हेर्ने हो भने घरपालुवा जनावर सोचेजति नराम्रा हुन्नन् । ति दूरदर्शी हुन्छन्; विवेकशून्य हुदैंनन्; असल खराब छुट्याउन जान्दछन् । आफ्नो उट्पट्याङ व्यहोराले हाम्रो जीवनमा खुसी ल्याइदिन्छन् ।

आफ्नो मानसिक तनावमा उनिहरूले दिएको राहत, बनेका ति खेल्ने/सुत्ने साथी । झल्कियोस् त्यहाँ थोरै प्रेम जो नि:स्वार्थ होस् । मानवको जागरण होस्, प्रेम जागोस् सम्पूर्ण जनावरहरूका लागि ।