अन्योलमा ऊ

बिल्कुलै अज्ञात छ, ऊ अन्योलमा, तर पनि विश्वस्त छ, समय स्वीकार गरिहेको छ।

भौँतारिएको अवस्थामा ऊ, सोच मग्न छ । जीवनमा केही छुटेको जस्तो महशुस ऊ बाट; आफ्नै मान्यतालाई आत्मसात् गर्न सकिरहेको छैन । उसका कयौँ भावनाहरू समर्पित कसैका निमित्त । खुसी त त्यो बेला भएको थियो जति बेला उसले पहिलो पटक नै उनीलाई देख्यो । त्यत्तिका मान्छेहरुको भिडमा उनको नमस्कार उसलाई निकै नै प्यारो लाग्यो । अब त ऊ कल्पनाको बादशाह जो बन्यो । उसको हातमा गितार, मस्तिष्कमा गाउनका निमित्त गित, ति सोचहरू कल्पनाको गङ्गासागरमा दौडिरह्यो, त्यो वातावरणमा सम्मान र आर्दश थियो । उनी जे जे गर्छिन् त्यो सब हेरेर बसिराको छ, उनको गतिविधिमा एकोहोरि रहेको छ । 

उसका लागि परिस्थिति अति नै सामान्य छ तर रमाइलो मानिरहेको छ मानौं कि त्यहाँ अद्भुत खुसीहरू छन् । जिन्दगिमा कयौं घटना र परिघटनाहरूले प्रभावित भयो होला ऊ तर आज फरक छ । उनको बोल्ने शैली, हसाँउने शैली, कामप्रतिको जिम्मेबारी, सरल प्रवृत्ति, शालिन व्यक्तित्वबाट प्रभावित भैसकेको ऊ । मौनता पनि छैन स्तब्धता पनि छैन, तर किन हो उनी आफूभन्दा कान्छी रे भनेको सुन्दा औधी खुसी हुन्छ । सत्यतथ्य एक दिनको कुरा; मन छ उसँग बोल्न, भेट्न, उसलाई घर पुर्‍याइदिन पनि, तर मौका खोई; कसलाई सोधुम? तैपनि असन्तुष्टि छैन । मन उदाङ्गिएको छैन । सरल नै थिए क्षणहरू ।

जिन्दगीमा प्रेम भन्ने कुरा सहजै प्राप्त गर्ने कुरा होइन, आफ्नो जिवनसाथि सोच र मनले परिपक्व हुनपर्छ, अन्धमानव भएर उनकै पछि लाग्न पनि हुन्न, भन्ने भाव भएको मान्छे ऊ । जति जति उनिसँग कुरा गर्छ त्यति त्यति उनका हरेक व्यवहार राम्रो र उत्कृष्ठ पाँउछ ऊ। उसलाई थाहै छैन कति खेर ऊ मायामा फस्यो । मिल्दोजुल्दो कयौं सोचहरू, आफ्नै कल्पनाकी जस्तै, राम्रो गुण भएकी ऊ सोच्दछ । उनको उदारता र समभाव सबैप्रति छ; यसमा पनि ऊ जानकार छ । कहिलेकाँहि आफ्नै विचारहरू प्रतिद्धन्द्धी लाग्दछन्, मैले यो कुरा निःस्वासभित्र गुम्साएर राख्नहुन्न, जीवन आफ्नै गतिमा हिँडोस् तर मूल्याङ्कन म आफैँले गनुपर्दछ ऊ सोच्दछ । उनी शुद्ध शाकाहारी र धार्मिक परिवारकी; आपत्ति छैन उसलाई रत्तिभर, उसका लागि यो त्याग्नु केही हैन सोच्दछ ।

उसको कहानीमा उनको विचार निष्क्रिय छन् शब्दमा वर्णन गर्न नसक्ने जस्तो। तर पनि उसलाई गुनासो छैन; स्वीकार्नु जो छ उसले । आफू परिवर्तन हुन उनको साथ चाहिने, उनको माया चाहिने, उनको लागि जे पनि गर्न सक्छु भन्ने सहजता प्रकट गर्छ।

जिन्दगी एक अर्थमा कल्पना; मिठो गरे मिठै, नमिठो गरे नमिठै! तर आफ्नै दुःखद भावना भित्र तीता स्वाद र त्यसमा गुलियोको कल्पना गर्न सकिन्छ र? आफैँलाई प्रश्न सोध्छ । मस्तिस्कमा प्रश्नहरु त अनेक, कौतुहलता, उत्सुकता र डर कतै! 

कतै उनलाई गुमाउँदिन ? उसलाई उनीबाट सहज रूपमा अभिव्यक्तता कहिल्यै मिलेन । सोच्दछ मेरो विचारको रङ्ग उनीसँग मिलेन, भावनाको रङ्ग पनि मिलेन, त्यसो त के हो? म के कुरामा पछि परेँ?

कुनै पनि कुरा भोलिका लागि सोच्ने ऊ, ऊ पृथक तरीकाले काम गर्छ, उनी जस्तो सोच्छिन्, जे भन्छिन्; थोरै भएपनि व्यवहारमा लागु गर्छु भन्ने सोच उत्पन्न गराउने ऊ । थाहा छैन यो मर्मस्पर्शी होकि सन्देशमुलक, सान्दर्भिक हो कि अन्त्य हो। ऊ सकारात्मक चाहन्छ । उनीबाट सकारात्मक आशा राख्दछ । उहि रित्तो परिस्थिति, कागजको खाली पाना जस्तै, अब उसले छाडिसक्यो उनीबाट आशा गर्न तैपनी उनीसँग बोल्न पाउँदा भाग्यमानि ठान्दछ। सम्मान त उनको लागि अति थियो तर त्यसलाई पनि उसको प्रेमले जितिदियो । जित्ने उसको मनसाय हो, हारेको भने पटक्कै होइन । नयाँ त केही थिएन; तर कुनै कुनामा सोच भने अवश्य छ; आफूले सोचे जस्तै चाहे जस्तै मान्छे गुमाउन चाहदैंन ।

उनको उसको लागि प्रशंशा र विचार उसलाई अतुलनीय लाग्दछ । आफु त्यसको उचित नभएको हितविपरीत सोच्दछ ।

ऊ शुन्यतामा शुन्य भएपनि खोज्दछ किनकी ऊ सकारात्मक छ । आफ्ना हरेक कुरा उनीलाई बताउन मन गर्छ।भोलि के होला? बिल्कुलै अज्ञात छ, ऊ अन्योलमा, तर पनि विश्वस्त छ, समय स्वीकार गरिहेको छ।