कथा उहाँको

धैर्यता अमुल्य गहना हो, कहिल्यै हराउनु हुदैँन । आत्मबल ठुलो धन हो, कहिल्यै गुमाउनु हुदैँन ।

१. आरम्भ

त्यतिबेला जीवनका पानाहरूमा सपनाका शब्दहरू मात्र कोरिदैं थिएनन्; सँगसगैँ भाग्यरेखाहरुले पनि ति खाली पानाहरू भर्दै थिए । उहाँको जीवन न खासै नौलो थियो न त खासै अजीव किसिमको; जिन्दगीका टिपोटहरू निकै नै सामान्य प्रवृत्तिका । जीवन गतिशिल छ, आफ्नै सुरमा चलिरहेको, हरेक व्यक्तिको आआफ्नै कहानी हुन्छ; पिडा र व्यथा सहित । हो, जीवनको भोगाइलाई विस्तार गर्न सकिन्न तर सङ्क्षेपमा भने पक्कै उजागर गर्न सकिन्छ । त्यो परीवार विल्कुलै उच्च तवरको थियो । छोराछोरी दुवै बराबरी भन्ने मान्यताको विकाश भएको परिवारमा हुर्किनु भएको उहाँ । पारिवारिक अवस्था निकै नै सन्तोषजनक, कमी र अभावको महशुस भएन ।

म एक नारी हुँ, घरकी कान्छी छोरी; पढ्नका लागी सबैको साथ पाएकी छु र हो मैले भोलि गएर पक्कै पनि केहि गर्नुपर्छ भन्ने सोच भएकी उहाँ सहानुभूति, प्रेम र सहअस्तित्व भएको व्यक्ति हुनुहुन्थ्यो । पोखराको पृथ्वीनारायण क्याम्पस र होस्टेल बसोबासका क्रममा उहाँसँग नेतृत्व भएको भाव र आफूसँग आबद्ध रहेका सम्पूर्णको हृदयपरिवर्तन गर्न सक्ने क्षमता निकै नै स्पष्ट रूपमा प्रष्फुटन भएको थियो । जीवनको शैक्षिक मोडमा पढाइमा तीक्ष्णता त्यति सक्रिय थिएन तर पढ्नु पर्छ भन्ने एक अद्भुत चेतना, पढाइका लागि मेहेनत, परिश्रम र देन भने थिए । एक जेहेन्दार छात्रा, आत्मनिर्भर हुनका लागि सदैव तत्पर, कला र सिप सिक्ने जागरूकता, सामाजिक कार्यमा रुचि, आफ्ना अटुट विचार, स्वनिर्मित सोचहरू; यि समग्रलाई लिएर अघि बढाउदैँ जिन्दगी, पल्टाउदै जिन्दगीका पुस्तिकाहरू, भर्दै ति खालि पानाहरू केही रंगहरू, सन्तुष्टि नपलाएसम्म उहाँका पाइलाहरू चलिरहेका थिए, लम्किहेका थिए भविष्यतर्फ.......

२. पूरा हुन नसकेका ति सपनाहरू

भर्खरको अल्लारे बेला राम्री र चिटिक्क भएर हिँडन मन लाग्ने,अत्यन्तै आकर्षक हुनुहुन्थ्यो उहाँ। मोडलिङ र फिल्म खेल्ने मोहले कहिल्यै छोडेन । केहि समय सिरियलमा आफ्नो भूमिका निभाउनु पनि भयो । तर परीवारबाट आफ्नो रुचिको बाटोलाई साथ कहिल्यै भएन । त्यतिबेला ह्वाइट टाइगरका( ड्रामा) लागि अफर आएको थियो; आफुलाई भित्रबाटै गर्न मन लागेको काम, घरबाट हुन्न भन्दाभन्दै पनि ४ दिनसम्म भागेरै भएतापनि आफ्नो सुनौलो आयाम तर्फ लाग्नु भएको थियो । यस्तै नियति परिनियतिका घटना र परिघटना भोग्दै आखिर आफ्नो इच्छा र सपनालाई तिलाञ्जलि दिएर आफ्ना परीवारका खुसीका लागि उहाँले अबदेखि यो क्षेत्रमा काम नगर्ने निर्णय लिनुभयो । 

 समाजको फिल्ममा काम गर्ने दृष्टिकोणमा ठ्याम्मै परिवर्तन आएको थिएन, मान्छे को सोचमा केही फरकपन दिएन । परिस्थिति स्विकार्नु पर्दो रहेछ, सोचेको कुरा पुग्दो रहेनछ, त्यतिवेला अमेरिकामा ह्वाइट टाइगरको सुटिङका लागि गएर यहि क्षेत्रमा लागेको भए आज अर्कै हुन्थ्यो जिन्दगी, तर पनि उमेरसँगै चेतनाका बोटहरू अझै वृद्धि हुदैँ थिए ।

यात्रा गर्दागर्दै कहिलेकाँहि गन्तव्यमै चप्पल चुँडिइदिन्छ । अब आगमि गन्तव्यमा कि त बिना चप्पल हिँड्नुपर्यो कि त नयाँ किन्नुपर्‍यो कि त घरै फर्किनुपर्‍यो । आफ्नो जीवनबाट केही छुटेको जस्तो लाग्यो उहाँलाई ।जीन्दगीको यात्रामा उहाँले आफ्नो गन्तव्य त्यागेर घर फर्किनु भयो, त्यो पिडादायी थियो, त्यो क्षण असह्य थियो, वर्णन गर्न नसकिने, त्यसले पारेको घाउ जिन्दगीभर नबल्झेला भन्ने थिएन । अब जीन्दगीले नयाँ मोड तब लियो जब उहाँ वैवाहिक जीवनमा बाँधिनुभयो। ति कयौं सपनाहरुसँगैका उत्साह र उमंग प्रति परिवारको निर्दयी व्यवहार थियो तर डर छैन रतिभर पनि,परिस्थिति स्विकारिदैं छन्........

३. जिज्ञासाको जन्म

उहाँको जीवन एउटा नाटक थियो र उक्त नाटककी मुख्य पात्र जिज्ञासा थिइन् । जीज्ञासा उहाँकी दोस्रो सन्तान थिइन् । वैवाहिक जीवन त सुमधुर नै रह्यो, दुःख नभोगेको पनि होइन; त्यतिवेलाको समय सङ्‌घर्षपूर्ण नै थियो । यो कस्तो मोह आइलाग्यो फेरी? छोरीको उच्च चाहना र त्यो पूरा पनि भयो ।

तर जिन्दगीले फेरी पनि अर्कै मोड लियो । खासमा हेर्ने हो भने जिन्दगीका पानाहरूमा विभिन्न शब्दहरू भरिने क्रम निरन्तर चलिरहन्छ । अहिले आएर ति पानाहरूमा पीडा र आँसुहरू बाहेकका अरू शब्दहरू पोखिएनन् ।  जिज्ञासाको स्वास्थ्य अवस्था निकै नै जटिल, तौल अत्यन्तै कम, गर्भमै उचित वातावरण मिलेन,२६ दिनसम्मको लामो एनआइसियू बसाईं अन्त्यन्तै कष्टकर थियो । जीवनमरणको दोसाँधमा, मृत संवेदनाहरू डगमगाइरहेका; त्यो परिस्थिति कल्पना गर्न लायकका थिएनन् । त्यतिबेला उहाँ आफ्नो भविष्य निमार्णमै हुनुहुन्थ्यो, आफ्नै व्यवसाय थियो, ब्युटी पार्लर प्रतिको गहिरो मोह, घर देखी लिएर व्यवसाय सम्म सबै काम भ्याउनु हुन्थ्यो तर आजको दिनमा ति सबै माया मार्नुपर्‍यो । जिज्ञासाको उत्थानका लागि बाँच्नुपर्यो । डाक्टरहरूको पटकै पिच्छेको निराशावादी कुराहरू मुटुमा ढुंगा बर्साएको झैं लाग्दथ्यो । दोष कसैको थिएन, अचेत दिमागले यो कुरा मानेन, दिमागले त्यो कुरा पटक्कै बुझेन । यो परिस्थितिले जिन्दगी उथलपुथल नै बनाइदियो । त्योबेला आर्थिक स्तर बलियो थिएन । जीवन शुन्यतामै बिलाइरह्यो; लाग्थ्यो कि भगवानले पनि उहाँसँग परीक्षा लिइरहेका छन् । त्यहि शुन्यताभित्र पनि जिन्दगी जसोतसो घिस्रिरह्यो । आमाको मन न हो परिस्थितिप्रति सहानुभूति त राख्नपर्‍यो । मनकामना माईसँग जीज्ञासाका लागि पुनजिर्वनको माग गरिरहनु भयो । साँच्चैनै उनको उत्थान भयो। तर पटकपटक चोट लाग्ने, ठेस लाग्ने, काँडा बिझ्ने र घाउ हुने काम त निरन्तर जस्तै; जीज्ञासाको शारीरिक दुर्बलता उनी १५ महिना भएपश्चात् पत्ता लाग्यो । अब फेरीपनि त्यहि पिडाकै बाटोमा, छोरीको त्यस्तो हालत देखेको आमाको मन कुँडिदैन होला त?

आफ्नी छोरी हिँडडुल गर्न नसक्ने, नित्यकर्म गर्न नसक्ने कुराले उहाँको मन छिया छिया बनायो। जीन्दगीका आगामी पृष्ठ पल्टाउने कि नपल्टाउने त? तर हैन जीवन फेरी अघि बढ्यो हिम्मत र आँटसहित । आफुमा भएका श्रृंगारका ज्ञानहरू, छोरीलाई श्रृंगार्ने सपनाहरू.... ति सम्पूर्ण विद्यमान रहिरहे केबल कल्पनामा । जीज्ञासालाई पढाउने सहज वातावरण कहिल्यै मिलेन । विद्यालयले उनलाई सामान्य कहिल्यै ठानेन । यो कुराले उहाँलाई एकम रुवायो । मनमा अनेक चोट बोकेर, मुटु गर्हौ बनाएर कयौं यात्रा गर्नुभयो होला तर उहाँका आखाँका रोदन र अनुहारको भाव कसैले पढ्ने मौका पाएन । दुःख थियो त केबल आफैंसँग; न कसैसँग झुक्नुभयो न कसैका अगाडि हात फिंजाउनु भयो । ति पाइलाहरू अघि बढ्दै गए समानान्तर दृष्टिकोणको खोजीमा.......

४.शैक्षिक यात्रा

अब त स्वभाविक रूपमा भन्ने हो भने जीवन घटना बुझ्ने, जान्ने र अध्ययन गर्ने विद्यालय बनिसकेको थियो । परिस्थिति स्विकारेर अघि बढ्नु भन्दा बाहेकको अरू कुनै विकल्प नै रहेन । वर्तमान समयमा जीवनका रहस्यहरू उद्घाटित भएका थिए, सोच र जाँगरलाई लामो समयसम्म बन्द गर्न उचित थिएन । छोरा जन्मिएपश्चात् पिके क्याम्पसमा मानवीकी विषय पढ्दाको समय त्यति सुमधुर रहेन । जीवनको अन्त्य त्यँही भएको थिएन,फेरी पनि नयाँ उत्साह बोकेर केही गर्ने अठोट लिई लम्कनु भयो उहाँ लिङ्कन कलेज तर्फ ब्याचलर ( बि.एड- स्वास्थ्य) पढ्न । 

आफ्नो शुभचिन्तक प्रिय भाईहरू सन्देश थापा र विशाल थापाका ति बोलिहरूले उहाँलाई पढ्नका लागि अग्रसर गरायो जुन बोलिहरूमा " दिदि हजुरले पढ्नुपर्छ है, पढ्नका लागि उमेरले छेक्दैन, हजुरसँग फेरीपनि पढ्न सक्ने सक्रियता छ" जस्ता भावहरू मिसिएका थिए। आफूले भोगेको जीवनको यात्रालाई सरल र सहन बनाउन र आत्मनिर्भर बन्नका लागि आफ्नै आत्माले पढ्न उक्सायो । जीज्ञासाका आँखाहरूले साथ दिए । आफ्ना सन्तानका लागि भएपनि मैले पढ्नै पर्छ भन्ने भावले जगायो ।

विवाहको करीब १२ वर्षपछि, कलेज वातावरण उहाँको लागि नौलो थियो, परिवेश अनौठो थियो, अनुभूतिहरु अद्भुत थिए । कलेजको पहिलो दिन, डर, तनाव थियो मनमा, यत्ति ठुलो उमेरमा पढ्नका लागि आएको, कस्ले के भन्ला, साथीभाईले हेप्लान् कि, सयौं कुराहरू मनमा खेलिरहेका थिए । नजिकै बेन्चकी साथी उमाको "तिमी कुन सब्जेक्ट?"; प्रश्नले उहाँका मनमा खेलिरहेका पिडाका सिसाहरू टुटे । "तिमी" शब्दले उहाँलाई झल्यास्स ब्युँझायो । मृत संवेदनालाई जगायो । उमाको त्यो प्रिय व्यवहार मर्मस्पर्शी थियो, मन नै छुने, उनको अटुट साथले ब्याचलर कसरी बित्यो पत्तो भएन उहाँलाई । उमाको मायाले उहाँको आत्मबल उच्च राख्यो । उहाँ एक सामान्य अनुशासित र मेहेनति विद्यार्थी हुनुहुन्थ्यो । त्यसैले शैक्षिक स्तर जीवनको लागि प्रकाशपुञ्ज बनेर उदायो ।

केही सङ्घर्ष, चुनौति, वर्तमान र भविष्यका हजारौं हजार कलिला सपनाहरूसगैँ, भावनाहरूलाई आत्मसात् गर्दै उहाँ अघि बढिरहनुभयो । 

५. तर्कहरू

 मनमा बोझ नभएको होइन, बिसाउने ठाँउ पनि कतै छैन । वेदना मनभित्रै गुम्साउन पनि निकै कठीन कार्य रहेछ । अनेक सङ्घर्ष झेल्दै त्यो समयमा, फरक उमेर समुहकासँग पढ्नुपर्ने, घरमा आफ्ना २ सन्तान, आर्थिक अवस्था त्यति बलियो थिएन; तर उहाँका लागि सबैभन्दा प्यारो भनेकै आत्मविश्वास थियो । हिजो के थाहा आज जीन्दगी यस्तो होला भनेर । परिस्थिति सामान्य रूपले जटिल थियो । यस्को सामना गर्न सहज थिएन ।

सोचहरू विषम् परिस्थितिमा थिए । पटक पटक जीन्दगीले परीक्षा नलिएको होइन । तर जस्तो जे भएपनि मस्तिष्कमा शिक्षित हुनु पनि मानव जीवन को देन हो भन्ने कुरा खेलिरह्यो । पढ्यो भने कसैले पनि हेप्न सक्दैन भन्ने कुराले सदैव जगाइरह्यो । यि सम्पूर्ण आफ्नो व्यक्तिगत विकाशका लागि थिए । आफ्नो जीवन कथामा उहाँ सङ्घर्ष, त्याग, समर्पण र आँशु जस्ता पात्रहरू पाउनुहुन्थ्यो । पिडाहरू भोग्ने धेरै छन्, तिनीहरूको बिचमा उहाँको जिन्दगी कहाँ पर्छ? पटकपटक भोगिएका मानसिक तनावहरू वर्णन गर्न लायकका छैनन् । पिडा र भावनाहरू कहिलेकाँहि आँशु बनि बग्दछन्, कहिलेकाँहि हाँसो बनि उड्दछन्,कहिलेकाँहि बोलि बनि बहन्छन् र कहिलेकाँहि शब्द बनि बर्सन्छन् । कहिलेकाँहि विचारका पुस्तकहरू शुन्य हुन्छन्, खालि हुन्छन् तर पनि जीवनको पानाहरू त हुन् पल्ट्याउनै पर्दो रहेछ युगान्तरसम्म.......

६.पुर्नजन्म

परिवर्तनशील छ जिन्दगी, कुन मोडमा गएर के हुने हो अत्तोपत्तो छैन । मुटु नै छिया छिया भयो जब उहाँको ब्रेनमा ट्युमर छ भनेर पत्ता लाग्यो । आखाँबाट पीडाका खोलाहरू उर्लिएर आए बाँच्ने आशाको पुल भत्क्याएर गए तिनले पनि । आँशुहरू बर्सिएर आफैँलाई निथ्रुक्क भिजाएर गए तर ति कुनै नौला थिएनन् उहाँका लागि । हो, हिम्मत कहिल्यै ढलेन, ग्राण्डि हस्पिटलका सर्जन डा. अमित थापाको नेतृत्वमा इन्डोस्कोपिक इन्डोन्याजल टान्सफिनोइडल सर्जरी विधिबाट ब्रेनट्युमर सफलतापूर्वक हटाइयो । परिस्थिति अत्यन्तै जोखिमपूर्ण र नाजुक थियो ।

अहिले उहाँलाई लाग्छकि मृत्युको मुखमा पुगेर फुत्केर आएँ नयाँ सपनाहरू सजाउन । उहाँलाई आफ्नो स्वार्थको लागि जीवन चाहिएको थिएन । समय आफ्नै गतिमा हिँडिरह्यो जिन्दगी संगसगै l मनले पटकपटक डाक्टरहरुलाई नमन गरिरहन्छ, पुजिरहन्छ भगवान मानेर, आफूलाई भाग्यमानि सम्झन्छ । मनले आफैलाई सोध्छ, यो पूर्नजीवन केका लागि त? तर जे होस् पीडाका नदीहरू बगिरहे र बाँच्ने आस्थामाधि मलजल मज्जाले पुग्‍यो ।

७.वर्तमान समय

सर्जरी पश्चातको आरामको समयमा हुनुहुन्छ उहाँ । जिन्दगीका पानाहरूमा धेरै व्यक्तिहरूले प्रभाव पारे; कृतज्ञ हुनुहुन्छ, धन्य हुनुहुन्छ । निडर, आत्मनिर्भर, मेहेनति र प्रेरित महिला हुनुहुन्छ । शारीरिक रूपमा असक्षम बालबालिकाको हितका लागि करिब २४५+ सदस्य भएको नव आगमन संरक्षक समाजको नेतृत्व लिएर उहाँ अघि बढिरहनु भएको छ । यो एक पिडा र आसुँले भरिपूर्ण भएको समाजिक संस्था हो। संस्थामा आबद्ध सबैको हालत एउटै, देशभरका शारीरिक दुर्बल भएर पारिवारिक हेलाको पात्र बनेका सबै बालबालिका को हितको लागी काम गर्ने उद्देश्य; तर कहाँ के नपुगेको के नपुगेको, संरक्षकहरुको भलोका लागी उहाँ दिनरात खटिरहनु भएको थियो । आर्थिक रुपले संस्थाका लागि त्यति धेरै सहयोग गर्न नसकेतापनि सोच, तरिका र समय भने खर्चिरहनु भएको थियो । तर यि कार्यहरू गर्न पनि कोरोना महामारी र आफ्नै स्वास्थ्यले दिएन । यो सोच्दा उहाँको संवेदना माथि आघात पुग्छ, मानसिक तनाव दिन्छ । तर सोचहरू शुन्य छैनन्, आगामी सफलताको बाटो कुरीरहनु भएको छ । जिज्ञासाको कुरा गर्ने हो भने उनको अवस्था राम्रो छ, थेरापी लिइरहेकिछिन् ।

कलम त आफैंमा स्वतन्त्र हुन्छ तर त्यहि कलम पनि असमान बनिदियो । जिज्ञासालाई विद्यालयले भर्ना नलिएको कुराले उहाँलाई पलपल नजलाएको होइन तर बन्धनहरू तोडेर उहाँ स्वयमले नै घरमै पढाइरहनु भएको छ। असमानताका विरुद्ध समानताका स्वरहरू कयौं, आखिरमा अन्याय उहाँ आफैंले भोग्नुभयो । उहाँ पनि आफू स्वयम् ग्रामिण आर्दश क्याम्पसमा ( मास्टर्स इन पब्लिक हेल्थ) अन्तिम वर्षको यात्रामा हुनुहुन्छ । पहिलेको समय र वर्तमान , पिडा त उहि हो तर समस्या भने फरक छन् । जब फरक समय हुन्छ, विचारहरू नयाँ आउँछन् । जब परिस्थितिहरू आइपर्छन्, हिम्मत र आँट अझ मजबुत हुदैँ जान्छन् । उहाँ बताउनु हुन्छ, "पैसा नै ठुलो कुरा होइन, मान्छे पैसा कमाउन होइन जीवन बनाउन तर्फ लाग्नुपर्छ ।" शिक्षा सबैभन्दा ठुलो कुरा हो र पढ्नका लागि उमेर र कुनै परिस्थिति ले छेक्दैन भन्ने विचार भएको मान्छे हुनुहुन्छ उहाँ ।४३ वर्षको उमेरमा आइपुग्दा सम्म भोगेका सबै परिस्थितिले उहाँलाई असाध्यै बलियो बनाएका छन् । समाजसेवाको बाटो अझै पूर्ण भइसकेको छैन,आगामी दिनहरुमा एक सफल समाजसेवी बन्नु उहाँको प्रमुख लक्ष्य हो । 

८.विचार

यि भावहरू उजागर गरिरहँदा मलाई उहाँको जीवन कत्तिपनि सामान्य लाग्दैन । यि परिस्थितिबाट गुज्रने कयौं होलान् र चुनौति पार गरेर अगाडि बढ्ने कमै छन्। म कहाँकी मान्छे उहाँ कहाँकी, न त कुनै नाता न त कुनै सम्बन्ध साइनो । खालि भावनात्मक र चेतनात्मक सम्बन्ध छ, अनि पवित्र प्रेमको नाता छ । जुन आफैं मा रमणिय छ । मिठासपूर्ण छ । उहाँको स्वास्थ्यमा सुधार आएको छ भन्ने कुराले औधि खुसी बनाँउछ । १५ वर्षकी जिज्ञासा बहिनिले अस्ति मात्रै फोनमा टाठो बोलिसहित "दिदि अब हजुर पनि सुतिस्यो" भनेको मेरो मस्तिष्कमा अझै ताजै छ। 

म उहाँका कुराहरूमा टहलिन्छु, प्रत्येक शब्दहरूमा एकोहोरिन्छु, प्रेरणा बनिसके ति व्यवहारहरू,मेरा सोचहरू रूमलिन्छन्, मडारिन्छन्; ओहो! मान्छेले त एकै समयमा धेरै काम गर्न सक्दो रहेछ, गर्नपर्दो रहेछ । छिनमै खुसी छिनमै दुखी हुनुपर्दो रहेछ । उहाँले अस्ति फोनमा बोल्दा केही हसाउने खालका कुराहरू भन्नुभएको थियो, अनि खै त्यो पनि कता कता पुग्‍यो कता? ति कुराहरू लेख्न नसक्नुको अर्थ हो "दुःखहरुले नै मन छुन्छन्" । र हो परिस्थिति बुझ्दै, अङ्गाल्दै, सम्हाल्दै र स्विकार्दै अघि बढ्नु पर्दछ, परिस्थितिको सामना गर्नु नै ठुलो जित हो । धैर्यता अमुल्य गहना हो, कहिल्यै हराउनु हुदैँन । आत्मबल ठुलो धन हो, कहिल्यै गुमाउनु हुदैँन ।