‘प्रधानमन्त्रीलाई हटाउन पाइन्न भनेर हामीले बालुवाटारमा हस्ताक्षर गरेका हौं’

‘प्रधानमन्त्रीलाई हटाउन पाइन्न भनेर हामीले बालुवाटारमा हस्ताक्षर गरेका...

पार्टीभित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन लागेपछि आफूहरूले प्रधानमन्त्रीको समर्थनमा बालुवाटारमा हस्ताक्षर गरेको नेकपाका एक सांसदले बताएका छन्।

नवलपरासी पूर्व २ का नेकपा सांसद तीलबहादुर महत क्षेत्रीले गत चुनावमा जनादेश केपी शर्मा ओलीका पक्षमा आएकाले तत्काल उनलाई हटाउन नहुने भन्दै आफूहरूले हस्ताक्षर गरेको बताए।

‘नेपाली जनताले पाँच वर्षको निम्ति म्यान्डेट दिएको हो। पार्टी त छँदै थियो तर केपी ओलीलाई प्रधानमन्त्री बनाउने भन्ने अभिमत पाँच वर्षका लागि दिएको हुनाले बाँकी कार्यकाल पनि केपी ओलीलाई हो। केपी ओलीको साथमा हामी छौं। हामी पनि जनताको प्रतिनिधि भएको कारणले जनताले अभिमत दिएर पठाएको हुनाले हामी पनि छौं भनेर हस्ताक्षर गरिएको हो,’ उनले भने, ‘पार्टीको सचिवालयको सर्वसम्मत निर्णय भनेको पाँच वर्ष केपी ओली प्रधानमन्त्री बन्ने भन्ने हो। नेपाली जनताको माग पनि त्यही छ। मतदाताका हामी प्रतिनिधिहरू पनि उहाँको पक्षमा छौं।’

उनले यसरी हस्ताक्षर गर्नेमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैका सांसद रहेको जानकारी दिए।