पासबाहक गाडीसमेत उपत्यकामा ‘नो इन्ट्री..’

पासबाहक गाडीसमेत उपत्यकामा ‘नो इन्ट्री..’

सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ?

या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ। याद गर्नुहोस्, पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न। नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा या अर्को कुनै नाकाबाटै फर्कनु पर्ने पनि हुनसक्छ। दुःख मात्रै पाउन सक्ने भएकाले बेलैमा ध्यान पुर्‍याउनुहोला।

दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यकामा ‘नो इन्ट्री’ गरिएको छ। यसअघि पास बनाएपछि निर्वाधरुपमा सवारी भित्रने गरेको थियो।

अब भने पासबाहक गाडीलाई समेत धमाधम फर्काउन थालिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले पास भएकालाई पनि अब अत्यावश्यकबाहेक प्रवेश रोकिएको बताए।

“दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसँग जोडिएका सवारी आउन पाउँछन्, त्यसबाहेक पास लिएर आए पनि सवारी भित्रिन पूर्ण निशेष छ।”

विभिन्न नाकाबाट अहिले उपत्यका एक हजार ५०० हाराहारीमा सवारी भित्रिने गरेका छन्। त्यसमा झण्डै ४०० सवारी पास बोकेर विभिन्न काममा आउने गरेको प्रहरीको अभिलेख छ। दैनिक उपभोग्य सामग्री ल्याउने सवारीसमेत बढेको छ।

ती गाडीमा चालक सहचालक गरी दुईदेखि तीनजना आउने गरेका छन्। त्यसरी हेर्दा झण्डै चार हजार हाराहारीमा मानिस दैनिक उपत्यका भित्रिने गरेका छन्। अत्यावश्यक सावारीमा आएकाहरु सामान अनलोड गरेर बाहिरिने भए पनि अन्य व्यक्तिहरु बाहिरिने गर्दैनन्। त्यसैले पनि कडाइ गरिएको हो।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको वर्तमान समयमा अत्यावश्यक कामबाहेक बाहिर निस्कने अवस्था अहिले होइन। घरमै बस्ने, सामाजिक दूरी कायम गर्ने र मिचिमिची साबुन पानीले हात धुने गर्नुपर्छ। तर, बजारमा धेरै मानिस बहानाबाजी गरेर, पासको दुरुपयोग गरेर हुन्छ या त झुटा विवरण पेश गरेर पास लिने र निस्कने अवस्था छ। त्यसलाई रोक्न प्रहरीले पासमा कडाइ गरेको हो।