हिमाली क्षेत्रका बासिन्दाले यार्सागुम्बा टिप्न पाउनुपर्ने माग

हिमाली क्षेत्रका बासिन्दाले यार्सागुम्बा टिप्न पाउनुपर्ने माग

कोरोना सङ्क्रमणको जोखिम हुनसक्ने भन्दै यो वर्ष यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि हिमाली क्षेत्रका बासिन्दाले यार्सागुम्बा सङ्कलन गर्न पाएका छैनन् । दार्चुलाको अपिहिमाल गाउँपालिकाका स्थानीय प्रेमसिंह कार्कीले भने, “वर्षभरिको मुख्य आयस्रोत नै यहाँका बासिन्दाको यार्सा हो । त्यही टिप्न नपाएपछि यो वर्ष घरखर्च कसरी धान्ने भन्ने चिन्ता लागेको छ । छोराछोरी के गरी पढाउने अनि घरखर्च कसरी चलाउने ? उनले प्रश्न गर्दै भने ।
सिँचाइ सुविधा नहँुदा कृषि उत्पादन थोरै हुने हिमाली क्षेत्रका अधिकांश परिवार जडीबुटीमा आश्रित छन् । जेठ महिनामा सङ्कलन गरेको यार्सागुम्बा बेचेर वर्षभरिको खाद्यान्न जोहो गर्ने र ऋण तिर्ने स्थानीय यो वर्ष समस्यामा परेको स्थानीय योगेन्द्र धामीले बताए ।
दार्चुलाको अपिहिमाल, व्यास, मार्मा, नौगाड गाउँपालिकाका झन्डै १० हजार स्थानीय यार्सागुम्बा सङ्कलनमा जाने गरेका थिए । विगत वर्षहरूमा यो समय लालाबालासहित हिमाली क्षेत्रमा जाने स्थानीयवासी यो वर्ष घरमै बसेका छन् । शिक्षक, विद्यार्थीसमेत यार्सागुम्बा सङ्कलनका लागि हिमालतर्फ जाँदा गत वर्षसम्म जेठ महिनामा विद्यालय बन्द हुने गरेका थिए ।