लकडाउनपछि आईपीओ धमाधम जारी ! आईपीओ जारी गर्न १७ कम्पनीको आवेदन

लकडाउनपछि आईपीओ धमाधम जारी ! आईपीओ जारी गर्न १७ कम्पनीको आवेदन

लामो समय बन्द रहेको सेयर बजार खुलेसँगै यतिबेला साधारण सेयर (आईपीओ) धमाधम जारी भइरहेको छ । लकडाउन पूर्ण रुपमा नखुल्दै २ वटा कम्पनीहरुले आईपीओ जारी गरिसकेका छन् भने एउटा कम्पनीको यस अवधिमा आईपीओ बाँडफाँट भएको छ ।

मुलुकको एकमात्रै पुनर्बिमा कम्पनी नेपाल पुनर्बिमा कम्पनीले लकडाउनभन्दा अगाडि सर्वसाधारणहरुका लागि १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता सेयर निष्कासन गरेको थियो ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक रहेको आरबीबी मर्चेन्टले लकडाउनकै बीच आईपीओ बाँडफाँट गरेको थियो । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएर अहिले यस कम्पनीको सेयर कारोबार भइरहेको छ ।

सोमबारको मूल्य हेर्न हो भने पुनर्बिमा कम्पनीको मूल्य ४।४ गुणाले वृद्धि भएको छ । उता एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले ठूलो परिमाणमा आईपीओ जारी गर्यो । लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ निस्कासन गरेको थियो ।लघुवित्तको आईपीओमा आवेदन गर्ने ३ लाख ९७ हजार ४४१ जना योग्य आवेदकले नै न्यूनतम १० कित्ता सेयर प्राप्त गरेका छन् । यस्तै २० वा २० कित्ताभन्दा बढी सेयरको लागि आवेदन दिने ३ लाख ४१ हजार ५३६ आवेदकमध्ये ४६ हजार ५ सय ७९ आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन् ।

यतिबेला साधना लघुवित्त वित्तीय संस्थाको पनि आईपीओ जारी भइरहेको छ । यस कम्पनीले आइतबारदेखि ७ लाख ७ हजार ८०० कित्ता सेयर निष्कासन गरेको छ । जसमा ०।५ प्रतिशत सेयर १० हजार ८९० कित्ता सेयर कर्मचारीको लागि आरक्षण गरिएको छ भने सामूहिक लगानी कोषको लागि ३५ हजार ३९० कित्ता आरक्षण गरिएको छ । यो आधारमा सर्वसाधारणले ६ लाख ६१ हजार ५२० कित्ता सेयरमा मात्र सर्वसाधारण आवेदन गर्न पाउँछन् । सबैले १० कित्ता सेयर पाउने भएको हुँदा यो आईपीओमा ६६ हजार १५२ जना आवेदकले मात्र गोलाप्रथाबाट सेयर पाउँछन् ।

अजोड इन्स्योरेन्सको आईपीओ खुल्दै

एनआईसी एसिया लघुवित्तको पछि साधना लघुवित्तको आईपीओ खुल्यो । यसलगत्तै फेरि अर्को बीमा कम्पनीले अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि आईपीओ बिक्री खुला गर्दैछ ।

कम्पनीले गत बुधवार आह्वान पत्र जारी गर्दै ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्री गर्ने जानकारी दिएको छ । सर्वसाधारणका लागि छुट्याइएको कुल ३० लाख कित्ता आईपीओमध्ये कम्पनीले १ लाख २० हजार कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत् बिक्री खुला गर्न लागिएको हो ।छिटोमा असार २९ र ढिलोमा साउन ८ गतेसम्म बिक्रीमा रहने यस आईपीओ खरीद गर्न चाहनेले न्यूनतम १० कित्तादेखि अधितम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ जारी गर्न १७ कम्पनीको आवेदन

यसपछि पनि आईपीओ जारी गर्नका लागि कम्पनीहरु पाइपलाइनमै छन् । १७ वटा कम्पनीले आईपीओ जारी गर्न आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । केही कम्पनीहरुले धेरै पहिले नै आवेदन दिए पनि आवश्यक कागजातहरु पूरा गर्न नसक्दा अनुमति पाएका छैनन् ।

केही कम्पनीले भने चाँडै आईपीओ जारी गर्ने अनुमति पाउने बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार हिमालयन हाइड्रोपावरले २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न माग गर्दै बोर्डमा निवेदन दिएको छ । ७ कात्तिक २०७६ मै निवेदन दिएको भए पनि केही कागजातहरु पूरा नभएकाले बोर्डले अनुमति दिएको छैन ।