"नारायणगढ मुग्लिन सडकखण्ड पहिरोले पुनः अवरुद्ध"

"नारायणगढ मुग्लिन सडकखण्ड पहिरोले पुनः अवरुद्ध"

नारायणगढ - मुग्लिन सडकमा सोमबार राति पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । पहिरो पन्छाएर एकतर्फी गाडी चलाएको केही घण्टामै इच्छाकामना गाउँपालिका–६ चारकिलोनजिक फेरि पहिरो गएको हो । 
सोमबार दिउँसो २ बजे पनि पहिरोले सडक अवरुद्ध भएको थियो । साँझबाट एकतर्फी गाडी सञ्चालन गरिएकोमा राति साढे १० बजे सोही ठाउँमा पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पहिरो तत्काल पन्छाउन मुस्किल देखिएपछि ट्राफिक कार्यालयले मंगलबार उक्त सडक प्रयोग नगर्न भन्दै सोमबार राति सूचना नै जारी गरेको छ । चारकिलोमा पहिरोले सडक थुनिएको यो तेस्रोपटक हो ।