आईपीएल ; धवनको शतकिय पारी बावजुद पनि हार्यो दिल्ली

आईपीएल ; धवनको शतकिय पारी बावजुद पनि हार्यो दिल्ली

कार्तिक ५, २०७७। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराती भएको खेलमा शीर्षस्थानको दिल्ली क्यापिटल्समाथि ५ विकेटको जित हात पारेको छ । पन्जाबको यो लगातार तेस्रो जित हो भने दिल्लीले १० खेलमा तेस्रो हार भोगेको हो ।

टस जितेको दिल्लीले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ५ विकेट गुमाई १ सय ६४ रन बनाएको थियो । पन्जाबले एक ओभर अगाडि १ सय ६७ रन बनायो । म्याच विजयी छक्का प्रहार गरेका जिम्मी निशम ८ बलमा १० र दीपक हुडा २२ बलमा १५ रन बनाई अविजित रहे ।

दिल्ली १४ अंकसाथ शीर्षस्थानमा छ । पन्जाब ८ अंकका साथ पाँचौं स्थानमा उक्लेको छ । मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंग्लोर समान १२ र कोलकाता नाइट राइडर्स १० अंकसहित क्रमशः दोस्रोदेखि चौथो स्थानमा छन् । डबल राउन्ड रोबिन लिगपछि शीर्ष चार स्थानमा रहने टोली प्लेअफमा पुग्नेछन् । पहिलो ७ खेलमा एकमात्र जित्न सकेको पन्जाब अहिले प्लेअफको प्रत्याशी भएर आएको छ ।

पन्जाबको सुरुआत राम्रो हुन सकेको थिएन । कप्तान केएल राहुल १५ रनमै आउट भए । मयंक अग्रवाल ५ रनमा रनआउट भए भने तुसार देशपाण्डेलाई एकै ओभरमा २६ रन प्रहार गरेका क्रिस गेल १३ बलमा २९ रन बनाई आउट भए । निकोलस पूरनले २८ बलमा ५३ रन बनाउदै पन्जाबको पतनमात्र जोगाएनन् लगातार जित यात्रालाई पनि जारी राखे । उनले ६ चौका र ३ छक्का प्रहार गरे । पूरनलाई ग्लेन म्याक्सवेलले ३२ रन बनाउँदै राम्रो साथ दिए । म्याक्सवेलले २४ बल खेली ३ चौका प्रहार गरे ।

दिल्लीका कागिसो राबाडाले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । त्यस्तै अक्षर पटेल र रविचन्द्रन अश्विनले १–१ विकेट लिए । यी दुई टोली सिजनको पहिलो खेलमा आमने सामने हुँदा दिल्लीले सुपर ओभरमा बाजी मारेको थियो ।

यसअघि म्यान अफ द म्याच शिखर धवनले ६१ बलमा अविजित १ सय ६ रन बनाए पनि दिल्लीको ब्याटिङ खुल्न सकेन । उनले १२ चौका र ३ छक्का प्रहार गरे । पृथ्वी श ७, कप्तान श्रेयस ऐर र ऋषभ पन्त समान १४, मार्कस स्टोइनिस ९ र सिमरन हेटमायर १० रनमा आउट भए । पन्जाबका मोहम्मद सामीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।