आईपीएल ; दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि ६ विकेटको सहज जित निकाल्यो

आईपीएल ; दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि ६ विकेटको...

दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि ६ विकेटको विजय हात पारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको क्वालिफायर–१ मा स्थान सुरक्षित गरेको छ । लगातार चार खेलको हार यात्रालाई टुंग्याउदै दिल्ली निर्णायक खेलमा जित पाउँदै फाइनल नजिक पुगेको हो ।

दिल्लीले टस जितेपछि ब्याटिङ निम्तो पाएको बेंग्लोरलाई १५२–७ को स्कोरमा रोकेको थियो । दिल्लीले एक ओभरअगाडि नै १ सय ५४ रन बनायो । दिल्लीले फाइनलमा स्थान पाउन बिहीबार शीर्षस्थानको मुम्बई इन्डियन्ससँग क्वालिफायर्स १ मा खेल्नेछ ।

अबुधाबीस्थित शेख जायेद रंगशालामा भएको दिल्ली र बेंग्लोरबीचको खेलमा ठूलो अन्तरको नतिजा आएको भए पराजित हुने टोली बाहिरिन्थ्यो । त्यसका लागि बेंग्लोरले दिएको लक्ष्य दिल्लीले १७.४ ओभरभित्र पूरा गरिसक्नुपर्ने थियो । बेंग्लोरले पनि १९ रनमाथिको जित हात पारेको भए दिल्ली बाहिरिन्थ्यो । तर प्रतिस्पर्धात्मक खेलपछि दुवै टोली प्लेअफमा सुरक्षित भएका छन् ।

दिल्ली र बेंग्लोरबीचको खेलको नतिजामा ठूलो अन्तर भएको भए कोलकाता नाइट राइडर्स प्लेअफमा पुग्ने थियो । तर साँघुरो अन्तरको हारपछि कोलकाताको अन्तिम आशा मंगलबार मुम्बई र सनराइजर्स हैदराबादबीचको खेलमा अडिएको छ ।