आईपीएल; दिल्ली हराउदै डिफेन्डिङ च्याम्पियन्स मुम्बई फाइनलमा प्रवेश

आईपीएल; दिल्ली हराउदै डिफेन्डिङ च्याम्पियन्स मुम्बई फाइनलमा प्रवेश

मुम्बई इन्डियन्स लगातार दोस्रो वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन्स मुम्बईले बिहीबार एकतर्फी क्वालिफायर्स-१ मा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्‍यो ।

टस हारेपछि ब्याटिङमा आएको मुम्बईले ५ विकेट गुमाई २ सय रनको विशाल योगफल बनायो । दिल्लीले खाता खोल्नु अघि नै पृथ्वी श, शिखर धवन र अजिन्का राहनेलाई गुमाइसकेको थियो । अन्तमा २० ओभर खेलि ८ विकेट गुमाई १ सय ४३ रन बनाउनु दिल्लीलाई सान्त्वना मात्र बन्यो ।

दिल्लीको अर्को बाटो फाइनलमा पुग्ने सम्भावना कायमै छ । शुक्रबार रोयल च्यालेन्जर्स बेङ्लोर र सनराइजर्स हैदराबाद बीच इलिमिनेटरको विजेताले दिल्लीसँग आइतबार क्वालिफायर्स २ मा खेल्ने छ । क्वालिफायर्स-२ को विजेताले मुम्बईसँग मंगलबार फाइनल खेल्ने छ । मुम्बईले गत वर्ष चेन्नई सुपर किंग्सलाई पराजित गरी उपाधि जितेको थियो ।

ट्रेन्ट बोल्टले पहिलो ओभरमै श र धवनलाई आउट गरी डबल मेडन विकेट ओभर फालेका थिए । अर्को ओभरमा जस्प्रित बुमराहले राहनेलाई एलबीडब्लु आउट गर्दा दिल्लीको ३ विकेट गुम्दा कुनै रन थिएन । कप्तान श्रेयस ऐर १२ र ऋषभ पन्त पनि ३ रनमा आउट भए । मार्कुस स्टोइनिस र अक्षर पटेलले छैटौं विकेटमा ८१ रन जोडेपछि दिल्लीको स्कोर हेर्न लायक बनेको थियो ।