उपभोक्तालाई ठगी: सेन्ट्रल मललाइ २ लाख जरिवाना

आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

उपभोक्तालाई ठगी: सेन्ट्रल मललाइ २ लाख जरिवाना

विराटनगर, २६ कात्तिक । उपभोक्ता ठगेको आरोपमा विराटनगरको सेन्ट्रल मलमा रहेको सेन्ट्रल बजारलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

सेन्ट्रल बजारमा राखिएको काजु विक्रीमा १ सय प्रतिशत भन्दा बढी मुनाफा लिएको पाइएपछि वाणिज्य कार्यालय नेतृत्वको अनुगमन टोलीले जरिवाना लगाएको हो । सेन्ट्रल बजारले प्रति किलो १ हजार १ सय ६५ रुपैयामा खरिद गरेको काजु २ हजार २ सय ५० रुपैयाँमा विक्री गरेको पाइएपछि जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरका प्रमुखले जानकारी दिनुभयो ।तिहारको बेला भाई मसलाको अत्यधिक विक्री हुने भएकाले वाणिज्य कार्यालय नेतृत्वको अनुगमन टोलीले सेन्ट्रल बजार लगायत विराटनगरका विभिन्न पसलको अनुगमन गरेको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ मा खरिद मूल्यको २० प्रतिशत भन्दा बढी नाफा लिए २ देखि ३ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको छ ।म्याद सकिएको सामानमा नक्कली स्टीकर टाँसेर भरखर मात्र कारवाहीमा परेको विशाल समूहको सो सेन्ट्रल मलमा लगानी रहेको छ । सेन्ट्रल मलले उपभोक्ताहरु आकर्षित गर्न चाडपर्व बेला विभिन्न आकर्षक उपहार र छुटसहितको योजना ल्याएको थियो ।

गत वर्ष प्रति किलो १ हजार ४ सय रुपैया रहेको काजु यस पटक १ सय रुपैया घटेर १ हजार ३ सय रुपैयाँमा बजारमा विक्री गरिदै आएको व्यापारीहरुले बताएका छन् ।