बीमा दावीका लागि धमाधम नक्कली पिसिआर रिपोर्ट बनाइदै, दुई पक्राउ

बीमा दावीका लागि धमाधम नक्कली पिसिआर रिपोर्ट बनाइदै, दुई पक्राउ

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी लिनकै लागि नक्क्ली पिसिआर रिपोर्ट बनाउने क्रम बढेको छ । यसैक्रममा नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न दुई जनालाई नेपालगन्ज प्रहरीले पक्राउ गरेको छ ।

बाँकेस्थित भेरी अस्प्तालबाट दर्जनौं कोरोना बीमितलाई नक्कली पिसिआर रिपोर्ट बनाएको खुलेको छ । सोही अस्पतालका सुरक्षागार्ड र उनका एक सहयोगी मिलेर चिकित्सकको कीर्ते हस्ताक्षर गरी अस्पतालकै लेटरप्याडमा नक्कली पिसिआर रिपोर्ट जारी गर्ने गरेका थिए । प्रहरीले सूचना पाएपछि कीर्ते कार्यमा संलग्न दुई व्यक्तिलाई फक्राउ गरेको छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनीमार्फत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्तिले कीर्ते कोरोना भाइरस पोजेटिभ भएको पिसिआर रिपोर्ट बनाउने गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिर्पोटको नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पिसिआरको सिफारिस गर्ने गरेको तथ्य खुलेको अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् ।

उनीहरुले कोरोना बीमा गरेका बीमितलाई पिसिआर रिपोर्ट नेगेटिभ आएको अवस्थामा पनि कीर्ते गरी पोजेटिभ रिपोर्ट दिने गरेको खुलेको छ । उनीहरुले कति वटा कीर्ते रिपोर्ट बनाए भन्ने खुलिसकेको छैन । अस्पतालका अनुसार उनीहरुले असोजदेखि नै यस्तो कार्य गर्दै आएका थिए । प्रतिव्यक्ति पाँच हजार रुपैयाँ देखि १० हजार रुपैयाँसम्म लिएर कीर्ते पिसिआर रिपोर्ट बनाउने गरेको खुलेको छ ।यो समाचार आजको इन्स्योरेन्स खबरमा छापिएको छ ।