मेसीलाई आरोप माथी आरोप, भन्छन् आफुमा लागेको आरोप सुन्दा सुन्दा थाकिसके

मेसीलाई आरोप माथी आरोप, भन्छन् आफुमा लागेको आरोप सुन्दा सुन्दा थाकिसके

लियोनल मेसीले बार्सिलोनाका प्रत्येक समस्यामा आफूलाई नै दोषी देखाइने भन्दै त्यसबाट आफू थाकेको बिहीबार बताएका छन् । एन्टोन ग्रिजमनका पूर्वएजेन्टले मेसीकै कारण फ्रान्सेली स्ट्राइकरले बार्सिलोनाका लागि ला लिगामा राम्रो खेल्न नसकेको आरोप लगाएका थिए ।

एरिक ओल्ह्याट्सले मेसीले बार्सिलोनामा चाहिने भन्दा बढी नियन्त्रण गरेको बताएका थिए । उनले मेसीको यो ‘आतंक’ कै कारण ग्रिजमनले गत वर्ष क्लबका आएयता सोचेजस्तो प्रदर्शन गर्न नसकेको आरोप लगाएका थिए । विश्वकप छनोटमा अर्जेन्टिनाका लागि खेलेयता मेसी बार्सिलोना आइपुगेका हुन् । विमानस्थलबाट बाहिर पुगेलगत्तै उनलाई स्पेनी मिडियाले घेरेका थिए। त्यसै क्रममा उनले भने, ‘सत्य बोल्ने हो भने म थाकिसकें, किनभने बार्सिलोनाका प्रत्येक असफलतामा मेरै कारण देखाइन्छ ।’

मेसीले थप भने, ‘अहिले म १५ घण्टा उडानमा बिताएर थाकेर आइरहेको छु, स्पेनी कर अधिकृतहरू पनि मलाई नै पर्सिरहेका छन्, यो त पागलपनको हद नै हो ।’ बार्सिलोनासँग अनुबन्धको एक वर्ष बाँकी छँदा मेसीले विना कुनै मूल्य क्लब छाड्ने बुँदा उपयोग गर्न खोजेका थिए तर त्यसमा सफल भएनन् । आफ्नो क्लबविरुद्ध कानुनी लडाइँ लड्न उनी अनिच्छुक रहेका थिए ।

युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखबाट ८–२ ले पराजित भएयता बार्सिलोना एकपछि अर्को समस्याबाट गुज्रिरहेको छ । गत महिना मात्र अविश्वासको प्रस्ताव सामना गर्नुअगाडि नै क्लब अध्यक्ष जोसेप मारिया बारटोमेउले राजीनामा दिएका थिए । पछिल्लो समय मेसी आफैं स्पेनी कर अधिकृतहरूको लगातार सोधपुछमा फसेका छन् ।