युवाहरुको फेसबुक ग्रुप " अझै कति सहने ? " को महोत्तरी घटनाबारे प्रेस विज्ञप्ति

युवाहरुको फेसबुक ग्रुप " अझै कति सहने ? " को महोत्तरी घटनाबारे प्रेस व...

" अझै कति सहने ? " नामक एक युवाहरुको फेसबुक ग्रुपले महोत्तरीको बर्दिवासमा ६ वर्षिय बालीका गुलाब खातुनको बलात्कार पछि भएको हत्यालाई लिएर विरोध जनाउँदै निष्पक्ष छानबिन र दोषीलाई कडा भन्दा कडा कारबाहीको माग राख्दै आज आफ्नै फेसबुक पेज मार्फत प्रेस विज्ञप्ति जारी गरेको छ ।

 

देशमा भइरहेका बलात्कार र यौन हिंसा बिरुद्द बुलन्द आवाज उठाउँदै युवाहरुको यो ग्रुपले कहिले सम्म यस्तो स्तिथि आइरहने हो र हाम्रा चेलीबेटी बलि चडिरहनु पर्ने भन्दै सरकारलाई प्रश्न समेत गरेको छ। 

 

" अझै कति सहने ? " ले आफ्नो पेजमा जारी गरेको प्रेस विज्ञप्ति हेर्नुहोस् :

 

 

मिति: २०७७/०८/०९

 

प्रेस विज्ञप्ति

 

महोत्तरीको बर्दिबासमा छ वर्षिया बालिका गुलाब खातुनको बलात्कार पछि भएको हत्याले हामीलाई अत्यन्त दुखित र भाव विह्वल बनाएको छ र घटनापश्चात प्रहरी एवं राज्य संयन्त्रबाट हुनुपर्ने कारवाहीमा देखिएको लापरबाहीप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। बलात्कार जस्तो जघन्य अपराध समाजमा दिनानुदिन बढ्नु र बलात्कार पछि अपराध खुल्ने डरले पिडितको हत्या हुनु नै हाम्रो सामाजिक मूल्य र मान्यतामा गहिरो आघात पुग्नु हो भन्ने हाम्रो बुझाई छ| 

 

यसै घटनाको सेरोफेरोमा आज सोहि स्थानमा स्थानीयवासी र प्रहरी बीच भएको झडप र भिडन्तले घाउ माथि थप नुन छर्किने काम गरेको छ| दोषीले आफ्नो अपराध स्वीकार गरी घटना विवरण र लासको स्थान बारे जानकारी दिएकोमा प्रहरी एवं राज्य संयन्त्रबाट त्यसपछि गरिनुपर्ने कारवाही, जस्तो लासलाइ दिइनु पर्ने सुरक्षा, पोस्टमार्टम, आदिमा देखिएको हेलचेक्राइ र लास समुदायबाट लिन प्रहरीलाइ हम्मे हम्मे परेको, अनि सोहि क्रममा गोलि चल्नु र केहि आम सर्वसाधारण एवं प्रहरीहरु घाइते हुनु सबैले सम्पूर्ण राष्ट्र, प्रहरी, प्रशासन र समाजलाइ केवल नाङ्गो पार्ने काम गरेको छ| 

 

प्रश्न सहजै उठ्छ - कहिलेसम्म देशमा निर्मला, गुलाब, कल्पनाहरुले आफ्नो अस्मिता र देहको बलि दिनु पर्ने हो? कहिले सम्म नरपिपासुहरुको भोक मेटाउन कलिला बालबालिका एवं नारीहरुले आफुलाई लुट्न दिने हो? कहिले सम्म हाम्रो प्रशासन, कानुन, सरकार निरिह भइरहने हो? कहिले सम्म बलात्कार जस्तो घटनामा राज्यसंयन्त्रको हेलचेक्राइ हुने हो? कहिले सम्म यो देशमा बलात्कार र त्यसपछिको घटनामा दण्डहिनता हावी भइरहने हो? हामी नेपाल सरकार, प्रहरी प्रशासन समाज र आफुलाई कहिले सम्म यस्तो घटनामा निरिह बनाइ राख्नेहो? कहिले सम्म जवाफविहीन भएर बस्नु पर्ने हो?

 

जुन समाजमा छोरी चेलीलाई देवीको रुपमा पुजिन्छ त्यहि समाजमा आफ्ना छोरी चेलीको अस्मिता लुटिनुले सम्पूर्ण नेपालीमा गहिरो आघात पुगेको छ| यस्तोमा सामाजिक सद्भाव विथोल्ने गरि भएको यस किसिमका घटना प्रति समाज र प्रहरी प्रशासन सावधानीपुर्वक जिम्मेवार रही आफ्नो दायित्व पुरा गरिदिनुहुन हामी आग्रह गर्न चाहन्छौ| सुरक्षा निकायले उचित प्रोटोकल फलो गरी हिंसालाइ न्यूनीकरण गरिदिनुहुन पनि हाम्रो अनुरोध छ। 

 

अत: यस घटनामा निस्पक्ष छानविन गरी यथाशिघ्रा दोषीलाइ हदैसम्मको कारवाही गर्न जोडदार माग गर्दै यसै विज्ञप्ति मार्फंत् नेपाल सरकार र संघीय संसदलाइ बलात्कारका घटनामा शुन्य सहनशिलता अपनाएर हदैसम्मको कानुन ल्याई, कडाइका साथ लागु गर्न हाम्रो अपिल छ|