मल आपुर्ती अझै अन्योलमै

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार बङ्गलादेशबाट युरिया मल खरिद गरेर ल्याउने भनी निर्णय मन्त्रिपरिषद् बाट

मल आपुर्ती अझै अन्योलमै

काठमाडौँ । बङ्गलादेशबाट ल्याउने भनिएको युरिया मल अझै आउने कि नआउने अन्योलमा छ । सुरुमा पैँचोमा ल्याउने भनिएको ५० हजार मेट्रिक टन युरिया मल पछि खरिद गरेर ल्याउने भनी मन्त्रिपरिषद्ले निर्णय गरेको थियो तर कुन प्रक्रियाबाट ल्याउने भन्ने अझै निर्णय नभएका कारण आपूर्ति अन्योल देखिएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार बङ्गलादेशबाट युरिया मल खरिद गरेर ल्याउने भनी निर्णय मन्त्रिपरिषद्ले गरे पनि जीटुजीबाट ल्याउने कि खुला प्रतिस्पर्धाबाट त्यो स्पष्ट नभएका कारण त्यसमा छलफल भइरहेको छ । कृषि मन्त्रालयले जीटुजीबाट मल खरिद गर्ने भनी मन्त्रिपरिषद् समक्ष प्रस्ताव गरेको थियो तर मन्त्रिपरिषद्को बैठकले जीटुजी वा प्रतिस्पर्धाबाट मल खरिद गर्ने निर्णय गरेपछि मन्त्रालय अन्योलमा परेको छ । जीटुजीबाट ल्याउने कि प्रतिस्पर्धा गराएर मल ल्याउने त्यसबारे मन्त्रालयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

बङ्गलादेशबाट मल ल्याउने भनी कृषि सामग्री कम्पनी लिमिटेडले बोलपत्र आह्वानमार्फत ढुवानीकर्ता पनि चयन गरिसकेको छ । कृषि सामग्री कम्पनी लिमिटेडका निर्देशक नेत्र भण्डारीले बङ्गलादेशबाट मल ल्याउने सम्पूर्ण प्रक्रिया आफूहरूले पूरा गरेर बसेको तर कृषि मन्त्रालयबाट निर्णय नआएको बताउनुभयो ।

ढुवानीकर्ता तय भएको दुई महिनाभन्दा बढी भइसक्यो । सम्झौता भएको दिनदेखि २० दिनभित्र बङ्गलादेशबाट मल ल्याइसक्नुपर्ने सहमति भएको छ तर अहिलेसम्म कृषि मन्त्रालयबाट कुनै निर्देशन नआएको उहाँले बताउनुभयो ।

धान रोपाइँमा युरिया मलको हाहाकार भएपछि सरकारले बङ्गलादेशबाट द्रुत गतिमा मल ल्याउने निर्णय गरेको थियो । त्यसका लागि भदौ १६ गते प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले स्वयं त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग फोन संवाद गर्नुभएको थियो । सो संवादपछि मल ल्याउने कानुनी प्रक्रिया पनि सुरु भयो तर बङ्गलादेशले पैँचो नभई खरिद गर्नका लागि नेपाल सरकारसँग आग्रह ग¥यो । सोही आग्रहबमोजिम सरकारले निर्णय गरे पनि हालसम्म प्रक्रियामै अल्झेको छ ।