फागुन १५ सम्म काेराेना सङ्क्रमणको दर बढ्ने

फागुन १५ सम्म काेराेना सङ्क्रमणको दर बढ्ने

काठमाडौं । अमेरिका, युरोपका देशहरु, श्रीलंकामा अहिले कोरोनाको सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै कडा खालको लकडाउन, कर्फ्यु तथा निषोधाज्ञा लगाइएका छन् ।

जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डे फागुनको १५ गतेसम्म नेपालमा समेत सङ्क्रमणको दर बढ्ने भएकाले सरकारी संयन्त्रबाट प्रभावकारी मापदण्ड पालना गराउन र जनताले पनि अनुशासन कायम राख्न आवश्यक रहेको बताउँछन् । नेपाल सरकारले भनेको जस्तै कात्तिक मसान्तसम्ममा सङ्क्रमितको सङ्ख्या एक लाख ८० हजारभन्दा माथि पुग्ने अनुमान मेल खाएको छ ।

मङ्सिर ८ गतेसम्मको तथ्याङ्क अनुसार दुई लाख २२ हजार २८८ लाई कोरोना सङ्क्रमण भए पनि दुई लाख दुई हजार ६७ जनाले कोरोनालाई जितेका डा पाण्डे बताउँछन् । मङ्सिरबाट सङ्क्रमितको सङ्ख्या कम जस्तो देखिए पनि परीक्षणको दायरा नबढेकाले कम भएको उनको अनुभव छ । सरकारले सरकारी अस्पतालमा परीक्षण गरेको पैसा तिर्नुपर्ने प्रावधान राखेसँगै सङ्क्रमणको लक्षण देखिएकाहरु समेत अस्पताल नजाने र होम आइसोलेशनमा बस्ने प्रचलन बढेको उनले बताए ।

सुरुमा निःशुल्क परीक्षण हटाएको समाचार बाहिर आएसँगै अस्पताल गएर परीक्षण गराउनेको सङ्ख्या घट्यो, यसले सङ्क्रमित हुनेको कुल सङ्ख्यामा समेत असर पार्यो’ डा पाण्डेले भने । अस्पतालमा गएर बस्नुभन्दा घरमै बस्नु राम्रो भन्ने सन्देश फैलिएकाले अस्पतालसम्म आउनेको सङ्ख्यामा कमी भएको उनले बताए । यसले अस्पतालमा चाप गराए पनि दीर्घरोगीहरु र श्वासप्रश्वासमा समस्या भएकाहरुले अक्सिजन लेभल घटेपछि मात्रै अस्पताल आउने परिपाटीको विकास भएकाले मृत्यु हुनेको सङ्ख्यामा भने वृद्धि हुन पुगेको उनले भने ।

‘मान्छेहरु सिकिस्त भएपछि मात्रै अस्पताल जाने भएकाले आइसीयू र भेन्टिलेटर भरिएको र अस्पतालका सामान्य बेडहरु खाली हुन पुगेको छ ।’ उनले भने । लक्षण देखिएका बिरामीहरु समेत रुघाखोकी तथा ज्वरो आएमा त्यसको औषधि खाएर घरमै बस्दा जटिल समस्या भएपछि मात्रै अस्पताल जाने अवस्थाको कारणले मृत्युदर बढ्न सक्ने उनले बताए ।

सङ्क्रमणको लक्षण भएमा तत्कालै पीसीआर गर्ने र चिकित्सकको परामर्शमा घरमै बसेर भए पनि औषधि सेवन गर्दा जोखिम कम हुन्छ’ उनले सबैलाई अनुरोध गरे । अस्पताल जानुपर्नेभन्दा ढिला गरेर जाने परिपाटीको कारणले मृत्युदर बढेको छ ।

बचाउन सकिने मान्छेलाई समेत बचाउन सकिएको छैन ।’ उनले भने । मङ्सिर, पुस, माघ र फागुनको १५ गतेसम्म सोचेको भन्दा धेरै जोखिम बढ्ने भएकाले सतर्क रहन उनले अनुरोध गरे । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।