इथियोपिया : टिग्रेको राजधानी सरकारको नियन्त्रणमा आएको प्रधानमन्त्रीको दाबी

यद्यपि टिग्रेको विद्रोही टीपीएलएफ पार्टीले भने आफ्ना सेनाहरुले सरकारी सेनासँग अझै पनि युद्ध गरिरहेको

इथियोपिया : टिग्रेको राजधानी सरकारको नियन्त्रणमा आएको प्रधानमन्त्रीको...

१४ मंसिर, काठमाडौं । इथियोपियाको उत्तरी प्रान्त टिग्रेको राजधानी मेकेल्ले सरकारको नियन्त्रणमा आएको प्रधानमन्त्री अबिय अहमदले बताएका छन् । अहमदले टिग्रेमा सरकारले गरेको सैन्य आक्रमण सकिएको र अहिले राजधानी सहर सरकारको पूर्ण नियन्त्रणमा आएको बताएका छन् ।

नोभेम्बर ४ मा इथियोपियाको सरकार र टिग्रेको स्थानीय सेनाको बीचमा युद्ध सुरु भएको थियो । यसले अफ्रिकामा ठूलो युद्धको सुरुवात हुन सक्ने आशंका बढेको थियो । यो युद्धमा एक हजारभन्दा धेरैको मृत्यु भएको अनुमान गरिएको छ भने लाखौं मानिसहरु विस्थापित भएका छन् । जसमध्ये करिब ४३ हजार शरणार्थीहरु सीमा पार गरेर छिमेकी मुलुक सुडानमा पुगेका छन् ।

शनिबार सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्दै प्रधानमन्त्री अहमदले टिग्रेमा सैन्य कारबाही सकिएकोमा खुसी व्यक्त गरे । उनले अब आफ्नो ध्यान युद्धमा ध्वस्त भएका संरचनाहरु निर्माण गर्ने, भत्किएकाहरुको मर्मत गर्ने, घर छाडेर भागेकाहरुलाई फिर्ता ल्याउने र टिग्रेको जनवीवन सामान्य अवस्थामा फर्काउनेतर्फ केन्द्रित भएको बताएका छन् ।

यद्यपि टिग्रेको विद्रोही टीपीएलएफ पार्टीले भने आफ्ना सेनाहरुले सरकारी सेनासँग अझै पनि युद्ध गरिरहेको बताएको छ । टीपीएलएफको दाबीको विषयमा भने सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।

यो खबर अनलाइनखबरमा प्रकाशित भएको छ ।

स्रोत: onlinekhabar.com