सवारी दुर्घटनापछि बिरेन्द्रनगर तनावग्रस्त

सवारी दुर्घटनापछि बिरेन्द्रनगर तनावग्रस्त

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर शनिबार बिहानैदेखि तनावग्रस्त बनेको छ ।

शुक्रबार दिउँसो भेरीगंगा नगरपालिका-१२ छिन्चुमा टिपरको ठक्करबाट एक युवतीको मृत्यु भएको घटनालाई लिएर स्थानीयबासीले आन्दोलन गरिरहेका छन् ।

सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेको कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै अरेको भे ७ प ५२०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँँदा  मोटरसाइकल पछाडि बसेकी वीरेन्द्रनगर-११ की २३ वर्षीया ताराकुमारी आलेको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको थियो ।युवतीको मृत्युपछि स्थानीयबासीले छिन्चु बजारमा प्रर्दशन गरेका थिए । सवारी चालकलाई कडा कारबाही गर्नुपर्ने र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै मृतकका आफन्त र स्थानीयहरु जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।प्रशासन र मृतकका आफन्तहरुबीच सहमति हुन नसकेपछि स्थानीयबासी वीरेन्द्रनगरको मंगलगढी चोकमा आएर प्रर्दशन गरेका थिए । उनिहरुले, ‘मान्छे मार्न पाइदैन’, ‘दोसीलाई फाँसी दे, पीडितलाई न्याय दे’ भन्दै नारा बाजी गरेका थिए । प्रदर्शनकारीहरुले वीरेन्द्रनगरस्थित जुम्लारोड सडकखण्ड अवरुद्ध गरे ।

सडक खुलाउन प्रहरीले आन्दोलनकारीलाई तितरवितर गर्न खोजेपछि झडप भएको थियो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि नै ढुंगामुढा गरेका थिए भने प्रहरीले लाठीचार्ज गर्नुका साथै ५ राउण्ड अश्रुग्यास हानेको थियो ।

६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्र भट्टले जानकारी दिए । ‘हामीले टिपर र चालकलाई नियन्त्रणमा लिइसकेका छौं । दोसीलाई कानुन बमोजिम कारबाही हुन्छ,’ एसपी भट्टले भने, ‘उनीहरुले फाँसीको नारा लगाइ रहेका छन् । फाँसी दिने कानून छैन ।’ यो समाचार अन्लाईन खबरमा छापिएको छ।