‘किताब जात्रा’ माघ १७ देखि २३ सम्म

‘किताब जात्रा’ माघ १७ देखि २३ सम्म

किताब यात्रा फाउण्डेसनद्वारा आयोजना गरिने ‘नविल किताब जात्रा, २०७७’ माघ १७ देखि २३ गतेसम्म हुने भएको छ । कला, साहित्य र सामाजिक जनजीवनमाथि केन्द्रीत रहेर अन्तरक्रिया गरिने उक्त उत्सव यसपटक टेलिभिजन प्रसारणबाट मात्र देखाइने बताइएको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै किताब जात्राका संस्थापक ऋषिराम अधिकारी, बैंकर अनिल केशरी शाह, चार्टर्ड अकाउन्टेन्ट भरत रिजाल, पत्रकार टीकाराम यात्री, कला अनुरागी र कवि शकुन्तला जोशीले कार्यक्रमबारे बिस्तारमा जानकारी गराए।

‘पठन संस्कृतिको विकासका लागि गरिने किताब जात्रा यसपटक टेलिभिजनमार्फत गर्नेछौं’ अध्यक्ष अधिकारीले भने, ‘सातवटा अन्तरक्रिया सेसन र एक विशेष काव्य प्रस्तुतिसहित कार्यक्रम हुनेछ ।

नविल बैंक प्रमुख टाइटल स्पोन्सर रहेको कार्यक्रम माघ १७ देखि एकसाता हरेकदिन साँझ ६ देखि ७ बजेसम्म एपी वान टेलिभिजनमार्फत देखाइने तय भएको छ । वक्ता तथा मोडेरेटरहरूले टेलिभिजनकै स्टुडियोबाट बहस गर्नेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै नवील बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले अध्ययन भन्नेबित्तिकै किताबमात्र नभएर मानिसको जीवनको, दुखसुखको ज्ञान पनि पठककै अर्को रुप भएको बताए । शाहले भने, ‘भोलिको पुस्तालाई पूर्ण नेपाली बनाउनु छ भने पठन संस्कृति नै प्रमुख हतियार बनाउनुपर्नेछ । यसका लागि हामीले किताब जात्रासँग सहकार्य गरेका हौं ।’