जसपा पर्साको मशाल जुलुस : "प्रहरीले रोक्न खोज्दा झडप, दर्जनभन्दा कार्यकर्ता घाइते"

जसपा पर्साको मशाल जुलुस : "प्रहरीले रोक्न खोज्दा झडप, दर्जनभन्दा कार्य...

वीरगञ्ज । जनता समाजवादी पार्टी पर्साले बुधबार वीरगञ्जमा निकालेको मशाल जुलुसमा झडप हुँदा केही कार्यकर्ता घाइते भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गरिएको संसद् विघटन विरुद्ध जसपाले घोषणा गरेको तेस्रो चरणको आन्दोलनअन्तर्गत वीरगञ्जमा निकालिएको मशाल जुलुस प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

झडपमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढासमेत गरेका थिए । जसपाका कार्यकर्ताहरुले वीरगञ्जको विभिन्न स्थानबाट निकालेको मशाल जुलुस घण्टाघर तर्फ लग्न खोज्दा प्रहरीले रोकेको थियो । त्यही क्रममा झडप भएको जसपा निकट समाजवादी विद्यार्थी युनियनका नेता आजाज बाबु रांकीले बताए ।

उनले प्रहरीको लाठि चार्जबाट आफुपनि घाइते भएको बताए ।

झडपमा परी गौरव वर्मा, सरोज यादव , मनमोहन पाण्डे, विरेन्द्र यादब, एजाजबाबु राकी, रुपक पटेललगायत घाइते भएका छन् । साथै जसपाका केन्द्रिय सदस्य मोनिका सिँह, मुन्नी श्रीवास्तव, राजेश साह, नेता महेस साहलाई केहीबेर नियन्त्रणमा लिएर छोडेको जसपाका नेता तवरेज अहमदले जानकारी दिए । 

जसपा नेता रामनरेश यादवको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयमा गएको टोलिले पक्राउ परेकाहरुलाई छोडाएर ल्याएको अहमदले बताए । 

मशाल जुलुशमा प्रदेश सभा सदस्य जनत अन्सारी, प्रह्लाद गिरि, करिमा बेगम, मन्जुर अन्सारी, जसपाका केन्द्रिय सदस्य फिरोज मन्सुर, नेजामोदिन समानी, जगदिश पटेल, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, ओमप्रकाश सर्राफलगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको अहमदले बताए ।