चिनेकै व्यक्तिबाट १४ वर्षीया किशोरी बलात्कृत

चिनेकै व्यक्तिबाट १४ वर्षीया किशोरी बलात्कृत

मोरङ, २९ माघ।

                         जहदा गाउँपालिका–१ की १४ वर्षीया किशोरीलाई दुई युवाले अपहरण गरी बलात्कार गरेका छन् ।किशोरी पिसाब फेर्न सोमबार राति ९ः३० बजेतिर घरबाट बाहिर निस्केको मौका छोपी मोटरसाइकलमा छिमेकी टोलबाट आएका जितेश यादव र अजय बैठाले नियन्त्रणमा लिई भेडियारी नजिक मकैबारीमा पुर्‍याएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

‘उनीहरूले मुख थुनेर मकैबारीमा पुर्‍याए,’ पीडित किशोरीले प्रहरीलाई भनेकी छन्, ‘मार्ने धम्की दिँदै जबर्जस्ती गरे ।’ती युवाले बलात्कारपछि किशोरीलाई मोटरसाइकलमै राखेर घरभन्दा केही पर ल्याएर छाडिदिएका थिए । स्थानीय वीरेन्द्र राजवंशीले दुवै युवा दिउँसैदेखि टोलमा घुमिरहेको र राति सडकमा मोटरसाइकल रोकेर गफ गरिरहेको देखेको बताए ।

उनले किशोरीलाई मोटरसाइकलमा लगेको थाहा पाएपछि टोलभरिका मानिस मिलेर खोज्न थाले पनि फेला पार्न नसकेको बताए । ‘दुई घण्टापछि उनी रुँदै आएपछि हामीले प्रहरीलाई खबर गर्‍यौं,’ राजवंशीले भने । प्रहरीले खोज्दै जाँदा ती युवाले प्रयोग गरेको को२२प १८१६ नम्बरको मोटरसाइकल स्थानीय उदितचन्द यादवको घर आँगनबाट फेला परेको थियो ।

‘गाउँलेले राति १ बजेतिर हामीलाई खबर गरेका थिए,’ इलाका प्रहरी रानीका प्रहरी निरीक्षक दीपक थापाले भने, ‘तत्काल खटिएको प्रहरी टोलीले मोटरसाइकल बरामद गर्‍यो । ती दुवै युवा भारततर्फ भागेकाले पक्राउ गर्न सकेका छैनौं । खोजी भइरहेको छ ।’ उनले पीडितको किटानी जाहेरी आइसकेको जानकारी पनि दिए ।

बलात्कारपछि बेहोस फेला

कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरी किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । कानेपोखरीमा गत बिहीबार राति १७ वर्षीया किशोरी बेहोस अवस्थामा फेला परेपछि अनुसन्धान गर्ने क्रममा उनलाई चौधरीले बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । ‘घटनाबारे थप अनुसन्धान गर्दै छौं,’ उनले भने । घटनाभन्दा दुई साताअघि चौधरीसँग किशोरीको परिचय भएको र चौधरीले गत बिहीबार घरमा बोलाएर बलात्कार गरेको प्रहरीले जनाएको छ ।-इकान्तिपुर /File Photo