वीरगञ्जका मिटर व्याजी मित्रुका दाजुभाईमाथि अनुसन्धान सुरु, सयौंलाई ठगेको आरोप

वीरगञ्जका मिटर व्याजी मित्रुका दाजुभाईमाथि अनुसन्धान सुरु, सयौंलाई ठगे...

वीरगञ्ज । पर्सामा प्रशासनले दुईजना मिटर व्याजीमाथि अनुसन्धान सुरु गरेको छ । विभिन्न व्यक्तिलाई सानो रकम दिएर झुक्याई अवैध तरिकाले लाखौँ व्याज उठाउँने आरोप लागेका दुई मिटर व्याजीमाथि जिल्ला प्रशासन कार्यालय पर्साले अनुसन्धान सुरु गरेको हो । 

 


जिल्ला प्रशासन कार्यालय पर्साले झापा भद्रपुर नगरपालिका वडा नम्बर २ घर भई वीरगञ्ज महानगरपालिका वडा नम्बर १० मा बसोबास गर्दै आएका मुरलीमनोहर मित्रुका र मदनमोहन मित्रुकामाथि मिटर व्याज लिएर विभिन्न व्यक्तिलाई दु:ख दिएको गुनासोको आधारमा अनुसन्धान सुरु गरेको जनाएको छ । 

सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा पिडित वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ निवासी एमडी सहाबुद्दीन अन्सारी र पीडक मित्रुकाद्वयविच भएको छलफलमा तत्कालका लागि पीडक दोषी देखिएको भन्दै प्रशासनले उनीहरुमाथि अनुसन्धान सुरु गरेको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । 

मित्रुकाद्वयलाई मिटर व्याजीको आरोपमा सोमबार जिल्ला प्रशासन कार्यालयले पक्राउ गरी १० दिनको तारिखमा रिहा गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

मित्रुकाद्वयले अन्सारीलाई १३ लाख रुपियाँ ऋण दिएर कपाली तमसुक गराएका थिए । तर मित्रुकाले सात वर्षमा साँवा–ब्याजसहित १ करोड ९० लाख पु–याएपछि अन्सारीले जिल्ला प्रशासन कार्यालय पर्सामा उजूरी दिएका हुन् । 

उजूरीमा मुरलीमनोहर र मदनमोहनले वीरगञ्जमा सयौंलाई व्याज दिने र पछि मिटर व्याज असुल्दै दर्जनौं व्यक्तिमाथि मुद्दा दायर गरेको देखिन्छ । पीडित अन्सारीका अनुसार मित्रुकाद्वयले अहिले जिल्ला अदालतमा चारजनामाथि मुद्दा दायर गरी घर–जग्गाविहीन बनाएको बताए ।

२०७१ वैशाख २ गते अन्सारीले मित्रुका दाजुभाइसँग ऋण लिएको तर चलनचल्ती अनुसार १३ लाख रुपैयाँको दोब्बर २६ लाख रुपैयाँको कपाली तमसुक बनाएको अन्सारीले बताए । तर दाजुभाइ मिली एकै दिन मिति फरक पारी मदनमोहनको नाममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ नक्शा सिट नम्बर ०३५१–०४, कित्ता नं. ६९३, क्षेत्रफल ०५५८.७४ को जग्गा दृष्टिबन्धक गरेको देखिन्छ ।

ठग्ने उद्देश्यले मित्रुकाद्वयले पीडित अन्सारीलाई झुक्याइ अन्य कागजातमा सहीछाप गराउने गरेको उजूरीमा उल्लेख छ । दाजुभाइले दिएको रकमको ब्याज १० प्रतिशत लिनुपर्नेमा उनीहरूले मिटर ब्याज असुल गरी आफूलाई बिल्लबाठ बनाएको र अहिले आएर जिल्ला अदालतमा मुद्दा हालेको पीडित अन्सारीले बताए ।

सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको छलफलको क्रममा मित्रुका दाजुभाइले ५१ लाख रुपैयाँ अन्सारीलाई दिएको बताउँदै सावाँ–ब्याजसहित १ करोड ९० लाख भएको दाबी गरेका छन् । प्रजिअ तामाङसामु मित्रुका दाजुभाइले आफू अन्यायमा परेको बताएका थिए । 

तर पीडित अन्सारीका अनुसार आफूले छोरीको बिहेको लागि १३ लाख रुपियाँ ऋण लिएको तर मित्रुका दाजुभाइले झुक्याएर २६ लाख रुपैयाँको कपाली तमसुक तथा २५ लाख रुपैयाँ बराबरको जग्गा दृष्टिबन्धक गराएको आरोप लगाए । उनले कपाली तमसुक अनुसार २६ लाख रुपैयाँ दिन आफु तयार रहेको बताएका छन् ।