होलीमा सार्वजनिक कार्यक्रम गर्न पर्सा प्रहरीद्वारा रोक

होलीमा सार्वजनिक कार्यक्रम गर्न पर्सा प्रहरीद्वारा रोक

वीरगञ्ज, ११ चैत । जिल्ला प्रहरी कार्यालय पर्साले नजिकिदै गरेको होली पर्वको अवसरमा कुनै पनि सार्वजनिक कार्यक्रमको आयोजना गर्न प्रतिबन्ध लगाएको छ । 

 

 

 

 

छिमेकी राष्ट्र भारतका विभिन्न स्थानमा कोरोना भाइरसका संक्रमितहरु बढ्दा पुन: लकडाउन गरिएको हुँदा फागू पूर्णिमा (होली) घरपरिवारमै सुरक्षित भएर मनाउन पर्सा प्रहरीले आग्रह गरेको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चैत ८ गतेको निर्णयअनुसार भिडभाड नगर्न, मास्कको अनिवार्य तथा उचित तरिकाले प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न, स्वास्थ्य सावधानी अपनाउन नागरिकको ध्यानाकर्षण गराइएको छ । 

 

 

होली पर्वमा सार्वजनिक रुपमा भिडभाड तथा कार्यक्रम गर्न दिए अवस्था भयावह हुने परिकल्पना गर्दै पूर्व सावधानी अपनाउनुपर्ने पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । 

 

घर परिवारमै मर्यादित तरिकाले होली मनाउन अपिल गर्दै घरको झ्याल, छत तथा बराण्डाबाट रङ्ग, पानी, पिच्कारी तथा लोला प्रहार नगर्न पनि आग्रह गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै नागरिकको जिम्मेवारी बहन गर्न पनि विज्ञप्तीमा भनिएको छ । 

 

साथै पर्वको नाममा धार्मिक साम्प्रदायिक सद्भावमा खलल गर्ने किसिमका गतिविधि भए कानुनबमोजिम कारवाही गरिने पनि विज्ञप्तीमा उल्लेख छ । 

 

यसअघि मंगलबार बसेको जिल्ला कोभिड व्यवस्थापन समिति पर्साको बैठकले भारतमा बढ्दै गरेको कोरोना सङ्क्रमणको दरलाई ध्यानमा राखेर २५ जनाभन्दा मान्छे जम्मा हुन नदिने, सिमानाकामा थप कडाई गर्ने, विभिन्न स्थानमा हेल्थ डेस्क स्थापना गर्नेलगायत निर्णय गरेको थियो ।