१० वर्षीय बालिकासँग यौन दुर्व्यबहार गर्ने बहुदरमाईका भुनेश राउत कुर्मी पक्राउ

१० वर्षीय बालिकासँग यौन दुर्व्यबहार गर्ने बहुदरमाईका भुनेश राउत कुर्मी...

वीरगञ्ज, १९ चैत । बालिकालाई यौन दुर्व्यबहार गरेको आरोपमा पर्साको बहुरमाई नगरपालिकाबाट एकजना पक्राउ परेका छन् । 

 

 

 

 

गत माघ २५ गते १० वर्षिय बालिकामाथि यौन दुर्व्यबहार गरेको आरोपमा बहुदरमाई नगरपालिका वडा नम्बर ७ छपकैया निवासी ४५ वर्षीय भुनेश राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

कुर्मीविरुद्ध बाल यौन दुरुपयोगको मुद्दामा अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए ।

 

 

 

‘प्रारम्भिक अनुसन्धानका क्रममा बाल यौन दुर्व्यबहार भएकोसम्म खुलेको छ’ प्रहरी निरीक्षक थापाले भने ‘मेडिकल जाँचका लागि बालिकालाई नारायणी अस्पताल पठाएका छौं, रिपोर्टको आधारमा कारबाही प्रक्रिया अघि बढ्छ ।’

 

घटनालाई गाउँघरमै मिलाउन जनप्रतिनिधि र स्थानीय पञ्चसमेतको रोहबरमा मिलापत्र गरिएको पाइएको छ । दुर्व्यबहारमा परेकी बालिकाको परिवारलाई एक लाख रुपैयाँ दिन सहमत गराएर कुर्मीलाई पञ्चहरुले गाउँबाट भगाएको पनि आरोप लागेको छ । 

 

होली मनाउन कुर्मी घर फर्किएपछि घटना बाहिरिएको हो । वडा अध्यक्ष प्रभु पटेलले वडा सदस्य कुद्रिश देवानकै उपस्थितिमा पञ्चहरु बसेर छलफल गरेको जानकारी आफूले पाएको प्रहरी निरीक्षक थापाले बताए ।

 

मुलुकी अपराध संहिता २०७४ ले करणीको आशयले बालबालिकालाई अस्वाभाविक रुपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अङ्ग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरुपयोग गरेको ठहर्ने उल्लेख गरेको छ ।