शंकराचार्य गेटस्थित फ्लेग टावरको राष्ट्रिय झण्डा परिवर्तन

शंकराचार्य गेटस्थित फ्लेग टावरको राष्ट्रिय झण्डा परिवर्तन

वीरगञ्ज, २४ चैत                               नेपालको मूख्य प्रवेशद्वारको रुपमा चिनिने शंकराचार्य गेटमा अवस्थित फ्लाग टावरको नेपालको राष्ट्रिय झण्डा परिवर्तन गरिएको छ ।

यसअघि राखिएको राष्ट्रिय झण्डा खुल्ला स्थान र खराब मौसमका कारण च्यातिएपछि परिवर्तन गरिएको हो ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवको संसदीय विकास कोष र तलव भत्ता वापत प्राप्त रकमबाट उक्त फ्लेग टावर गत साउन महिनामा स्थापना गरिएको थियो । नेपालमा पहिलो पटक अत्याधुनिक बत्ती जडान नेपालको राष्ट्रिय झण्डा सहित फ्लेग टावर स्थापना भएपछि स्थानीय खुसी भएका थिए ।

तर, सरोकारवाला निकायले ध्यान नदिँदा विगत केहि हफ्तादेखि फ्लेग टावरमा रहेको नेपालको राष्ट्रिय झण्डा च्यातिएको अवस्थामै थियो । च्यातिएको झण्डा बारे जानकारी आएपछि सांसद् यादवको विशेष पहलमा र सक्रियतामा झण्डा परिवर्तन गरिएको हो । यादवले पुन: आफ्नो व्यक्तिगत खर्चबाट झण्डा परिवर्तन गराएका हुन् ।

झण्डा परिवर्तन गराउन सांसद् यादव स्वयम् पुगेको उनका स्वकीय सचिव निखिल बरनवालले जानकारी दिए ।