बिश्व पशु चिकित्सा दिवसको अवसरमा स्वर्ण आश्रम गौशालामा शिविर

बिश्व पशु चिकित्सा दिवसको अवसरमा स्वर्ण आश्रम गौशालामा शिविर

स्याङ्जा : धार्मिक एवं वैज्ञानिक महत्व बोकेको राष्ट्रिय जनावार गाईको संरक्षण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। विश्व भेटेरिनरी दिवसको अवसरमा स्याङ्जाको वालिङस्थित स्वार्गाश्रममा रहेको गौशालामा स्वास्थ्य शिविर आयोजना गर्दै सरोकारवालाले गाईको संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन्।

 

दिवसकै अवसरमा स्याङ्जाको भिरकोट र वालिङमा रहेको गौशालामा रहेका गाई तथा बच्छा बाच्छीलाई खोप, परजिवी नियन्त्रण तथा मिनरल वितरण गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले आयोजना गरेको शिविरमा दुई सय भन्दा बढी गाईको स्वास्थ्य परीक्षण तथा खोप वितरण गरिएको विज्ञ केन्द्रका प्रमुख ब्रज किशोर ठाकुरले बताए। पशुलाई निर्दयी व्यवहार गर्न नहुँने बताउँदै ठाकुरले भने,‘राष्ट्रिय जनावर सडकमा छाड्ने हामी मानवहरु पशुको अधिकार बिर्सिएका छौं।

 

उनीहरुलाई मानवीय व्यवहार र पशुको कल्याण गर्नु मानवीय दायित्व हो।’ दुधको सेवन गरुञ्जेल गोठमा पाल्ने तर दुध दिन छाडेपछी गाईलाई सडकमा छाड्ने प्रवृत्ति बढ्दै गएको भन्दै वालिङ नगरपालिकाले साझेदारी कार्यक्रम अन्तर्गत गौशालाको स्थापना गरेको नगर उप-प्रमुख कल्पना तिवारीले बताइन्।

 

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको १५ लाख र नगरपालिकाको १५ लाख गरी ३० लाखको लागतमा छाडा चौपाया व्यवस्थापन गर्न गौशाला निर्माण गरिएको तिवारीको भनाई छ। उनी भन्छिन्,‘छाडिएको गाईले किसानको खेती नष्ट गरेको गुनासो आएपछि हामीले छाडा चौपाया व्यवस्थापनको योजना अघि सारेका हौं।’

 

अहिले वालिङ नगरपालिकाको वडा नम्बर ८ र १० ले यसको संरक्षण गरिरहेको छ। हाल यहाँ ७० बढी गाई तथा बाच्छाबच्छी पालन गरिएको वडा नम्बर ८ का वडा अध्यक्ष कमल सुवेदीले जानकारी दिए।