बागलुङ नगरपालिकामा १० दिन लकडाउन

बागलुङ नगरपालिकामा १० दिन लकडाउन

१९ बैशाख , बागलुङ । बागलुङ जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि बागलुङ नगरपालिका क्षेत्रभित्र१० दिन लकडाउन गरिने भएको छ ।

 

जिल्ला कोभिड संकट सुरक्षा समितिको आईतबार बसेको बैठकले बागलुङ नगरपालिका क्षेत्र भित्र बैशाख २१ गते विहान ६ बजेदेखि ३० गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ । समितिले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कने र हिड्डुल नगर्ने, खाद्यसामाग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दुध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी ग्याँस लगायतका अत्यावश्यक सेवाका पसलह्ररु स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी विहान ७ बजेदेखि १० बजेसम्म मात्र संचालन गर्ने निर्णय गरेको छ ।

 

नेपाल सरकारले पहाडी जिल्लामा २०० जना सक्रिय संक्रमित भएको खण्डमा प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा बन्दाबन्दी गर्ने अधिकार दिएको भएपनि बागलुङ जिल्ला मध्य बागलुङ नगरपालिका क्षेत्र भित्र कोरोना संक्रमणको दर बढिरहेकाले रोकथामका लागि लकडाउन गर्नुपर्ने चौतर्फिरुपमा माग बढेपछि लकडाउन गरिएको हो ।

निकै तिब्रगतिमा फैलिने र सुरुको भन्दा घातक भाइरस रहेको जनस्वास्थ्यबिज्ञहरुले बताइरहेकाे समयमा जिल्लामा लकडाउन गरेर भित्रिने र बाहिरिने नाकाहरुमा कडा निगरानि सहित होल्डिङ सेन्टर स्थापना गरि कोरोना परिक्षणको दायरा बढाउनुपर्ने जरुरि देखिन्छ ।