वीरगञ्जमा ३ सङ्क्रमितको मृत्यु, थप ९४ जनामा कोरोना पुष्टि

वीरगञ्जका विभिन्न अस्पतालमा कोभिडबाट सङ्क्रमित भई उपचाररत २ महिलासहित ३ जनाले ज्यान गुमाएका हुन् ।

वीरगञ्जमा ३ सङ्क्रमितको मृत्यु, थप ९४ जनामा कोरोना पुष्टि

वीरगञ्ज ३० वैशाख । पर्सामा बिहिबार बिहानै तिन जना कोभिड सङ्क्रमितले ज्यान गुमाएका छन् ।

वीरगञ्जका विभिन्न अस्पतालमा कोभिडबाट सङ्क्रमित भई उपचाररत २ महिलासहित ३ जनाले ज्यान गुमाएका हुन् । 

ज्यान गुमाउनेमा वीरगञ्ज महानगरपालिका वडा नबर १० निवासी ७८ वर्षीय वृद्ध रहेका छन् । बैशाख २६ गते कोभिड पुष्टि भई अस्पताल भर्ना भएका उनको आज बिहान १२ बजेर १५ मिनटमा वीरगञ्जस्थित नारायणी वयोधा आस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 


त्यसैगरी नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ निवासी ४५ वर्षीय महिलाको पनि सङ्क्रमणबाट मृत्यु भएको छ । बैशाख १६ गते एन्टीजेन प्रविधिबाट कोरोना परिक्षण हुँदा सङ्क्रमण पुष्टि भइ उपचारका लागि नारायणी अस्पताल भर्ना भएकी उनको आज बिहान ३ बजेर ३० मिनटमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय कुमार श्रीवास्तवले जानकरी दिए । 


त्यसतै नारायणीमै उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ निवासी ५८ वर्षीय महिलाले पनि सङ्क्रमणबाट ज्यान गुमाएकी छन् । उनको आज बिहान १ बजेर ३० मिनटमा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए । 

बैशाख २० गते स्वास्थ्यमा समस्या आएपछि महिलालाई नारायणीमा उपचारका लागि भर्ना गरिएको थियो । भर्ना गर्दा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएको कारण बैशाख  २१ गते उनको पिसिआर परिक्षण गर्दा कोभिड पुष्टि भएको डा. दासले बताए । त्यसपछि उनको नारायणीकै कोभिड वार्डमा उपचार गरिँदै थियो । 

डा. दास अनुसार महिलाको दुवै फोक्सोमा गम्भीर किसिमको निमोनिया देखिएको थियो । निमोनियाका कारण श्वासप्रश्वासमा समस्या आउँदा उनको मृत्यु भएको उनले बताए । 

थपिए ९४ कोरोना सङ्क्रमित

यसैबीच नारायणीमा बुधबार गरिएको परिक्षणमा थप ९४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालस्थित पिसिआर ल्याबमा पर्सा, बारा लगायतका स्थानबाट १ सय ९२ जनाको स्वाबलाई परिक्षण गर्दा ३० महिलासहित ९४ जनामा सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास अनुसार थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै पर्साका बासिन्दा छन् । पर्साका ६९, बाराका १८, रौतहटका ६ र सर्लाहीका १ जनामा सङ्क्रमण पुष्टि भएको डा. दासले बताए ।

थपिने सङ्क्रमितहरु ८ वर्षदेखि ८२ वर्ष उमेर समुहसम्मका रहेका छन् भने उनीहरुको सिटि भ्यालु १४.०७ देखि ३३.६ सम्म रहेको छ ।