पर्सा प्रहरीको दादागिरी:मुखमा ७ वटा टाँका लगाउनु पर्ने गरी बाख्रा चराईरहेकी वृद्धालाई निर्घात कुटपिट

पर्सा प्रहरीको दादागिरी:मुखमा ७ वटा टाँका लगाउनु पर्ने गरी बाख्रा चराई...

विरगंज, ७ जेठ- निषेधाज्ञा कडाई बनाउने बहानामा बीरगन्जमा बढ्दै गएको प्रहरीको दादागिरीले सीमा नाघेको छ । केही दिन अगाडि अस्पतालमा उपचाररत आफ्नो बच्चालाई भेट्न अस्पताल हिडेंका बुबामाथि दुर्व्यवहार गरेको प्रहरीले शुक्रबार भने एक वृद्धालाई निर्घात कुटपिट गरेको छ ।


घटना हो-विरगंजस्थित मुर्ली पोखरीको । मुर्ली पोखरी नजिकै माछा बजार लागेको भनेर खबर पाएर वडा प्रहरी कार्यालय, श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट थप बलसहित त्यहाँ पुगेको प्रहरीले निर्दोषहरुलाई मरणासन्न हुने गरी कुटपिट गरेको छ । प्रहरीको अन्धाधुन्द लाठीचार्जबाट तीन जना घाइते भएका छन् ।


एक वृद्धा गम्भीर घाइते भएकी छन् भने एक जनाको हात भाँच्चिएको र अर्का एक जना पनि घाइते रहेका खबर प्राप्त भएको छ । मेनरोड चोक-चोकमा निषेधाज्ञा पालना गराउन नसकेको प्रहरीले आफ्नो कमजोरी लुकाउन मुर्ली गाउँभित्र छिरेर कुटपिट गरेको स्थानीयले बताए ।

प्रहरीको कुटाईबाट मुर्ली पोखरी नजिकै बाख्रा चराईरहेकी ती वृद्धाको मुखमा गम्भीर चोट लागेको छ । तराई अस्पतालमा उपचाररत ती वृद्धाको मुखमा ७ वटा टाँका लगाईको अस्पतालले जनाएको छ । पहिला मरणासन्न हुने गरी कुटेर ती वृद्धालाई पछि आफै अस्पताल पुर्‍याएर अलपत्र पारेर हाल प्रहरी सम्पर्कविहीन भएको छ । तराई अस्पतालमा अलपत्र अवस्थामा रहेकी ती वृद्धाको परिवारलाई न त प्रहरीले खबर गरेको छ, न अस्पतालमा प्रहरी छ ।

ती वृद्धाको अवस्थाबारे बुझ्न अस्पताल पुग्दा रुदैं ती घाइते वृद्धाले भनिन्म, “बाख्रा चराईरहेकी थिए, प्रहरी आएर अन्धाधुन्ध कुटे, त्यो पनि पुरुष प्रहरीले । कुटे-कुटे अनि अस्पताल ल्याएर अलपत्र पारेर प्रहरी भागे, मेर घर परिवारलाई पनि खबर गरिदिएनन् ।” घरपरिवारलाई खबर गरिदिन भन्दै उनले गुहार मागिन् ।

यसबारेमा सोधपुछ गर्न वडा प्रहरी कार्यालय श्रीपुर प्रहरी निरीक्षकलाई फोन गर्दा त्यहाँका असई फोन उठाएर मुर्ली गाउँमा वडा प्रहरी श्रीपुर र जिल्लाको टोली समेत गएको पुष्टि गरे र बाँकी सोधपुछ जिल्लामा नै गर्न भन्दै पन्छिए । उता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षकलाई फोन गर्दा उनको फोन उठेन ।

पछिल्लो पटक पर्सा प्रहरीको यस प्रकारको उग्र रुपले गर्दा सिंगो प्रहरीकै छविमा आँच आएको र प्रहरी मेरी साथी भन्ने नारा पनि नाम मात्रको हुन पुगेको सर्वसाधारण बताउँछन् ।