महामारीका कारण वीरगञ्ज भन्सारले अढाई अर्ब बढी राजस्व गुमायो

महामारीका कारण वीरगञ्ज भन्सारले अढाई अर्ब बढी राजस्व गुमायो

वीरगञ्ज ९ जेठ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका कारण नेपाल-भारत सिमा बन्द हुँदा वीरगञ्ज भन्सार कार्यालयले अढाई अर्ब भन्दा बढी राजस्व गुमाएको छ । 

कोरोना महामारी र निषेधाज्ञाका कारण वीरगञ्ज नाकाको अन्तर्राष्ट्रिय कारोबार प्रभावित हुँदा राजस्व संकलनको प्रत्यक्ष असर परेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

कोरोना महामारीका कारण विभिन्न सामग्रीको आयात निर्यातको कारोबार प्रभावित हुनुका साथै पूर्वाधार निर्माण, कृषि, स्वास्थ्यलगायतका कारोबार प्रभावित भएपछि राजस्व असुलीमा प्रभाव परेको हो ।

कोरोना महामारी नियन्त्रण गर्न लागू गरिएको निषेधाज्ञाको कारण वीरगञ्ज भन्सार कार्यालयले असुली गर्ने विभिन्न करहरुबाट २ अर्व ६० करोड राजस्व गुमाएको बुझिएको छ ।

वीरगञ्ज भन्सार कार्यालयले भन्सार, मु.अ. कर, अन्तः शुल्क, अग्रिम आयकर, स्वास्थ्य जो.कर, पूर्वाधार कर, नि.महसुल, कृषि सु.शुल्क, भन्सार अन्य आय एवं सडक सु.नि.दस्तुर कर बापत वैशाख महिनामा मात्रै १३ प्रतिशत अर्थात् २ अर्व ६० करोड राजस्व गुमाएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

वैशाख महिनामा वीरगञ्ज भन्सारले १९ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएकोमा लक्ष्यको ८६.६३ प्रतिशत अर्थात १६ अर्ब ८४ करोड ५७ लाख ८२ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । जुन लक्ष्यको १३.३७ प्रतिशत कम रहेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत शैलेन्द्र अधिकारीले जानकारी दिए ।

उनका अनुसार वीरगञ्ज भन्सारले अन्य बेलामा दैनिक औसतमा ६५ करोड रुपैयाँ राजस्व संकलन गर्दै आएकोमा वैशााख महिनायता दैनिक राजस्व असुली दर औसतमा ५६ करोड मात्रै रहेको बताए ।

वीरगञ्ज भन्सार कार्यालयले भन्सार राजस्वमा १२ प्रतिशत, मु.अ.कर राजस्वमा २८ प्रतिशत, अन्तः शुल्क राजस्वमा ३६ प्रतिशत, नि.महसुल राजस्वमा ६९ प्रतिशत एवम् भन्सार अन्य आय राजस्वमा ४६ प्रतिशत राजस्व गुमाएको छ ।

यसरी नै वीरगञ्ज भन्सार कार्यालयले पूर्वाधार कर राजस्व संकलनमा १७७ प्रतिशत लक्ष्य प्राप्त गरेको छ भने कृषि सु:शुल्क राजस्व संकलनमा १६० प्रतिशत राजस्व संकलन गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयले गत वैशाखमा पनि कोरोना महामारी र लकडाउनका कारण कुल लक्ष्यको ३१ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । यस वर्ष पनि निषेधाज्ञाको कारण भारत तथा तेस्रो मुलुकबाट मालवस्तुको आयात सहज नहुँदा राजस्व संकलन प्रभावित हुने सम्भावना बढेको छ ।

निषेधाज्ञाको कारण इन्धनको खपतमा कमी, नयाँ सवारी साधन विक्रीमा कमी, अधिकांश उद्योगहरु बन्द रहेको कारण औद्योगिक कच्चा पदार्थको आयातमा पनि कमी आएको कारण राजस्व संकलन प्रभावित भएको सूचना अधिकृत अधिकारीले बताए ।

गत चैतमा भने वीरगञ्ज भन्सार कार्यालयले लक्ष्यको १३१ प्रतिशत राजस्व संकलन गरेको थियो । भन्सार विभागले चैतमा १५ अर्ब १७ करोड ६७ लाख रुपैया राजस्व संकलनको लक्ष्य दिएकोमा वीरगञ्ज भन्सारले १९ अर्व ८७ करोड ९१ लाख ८३ हजार रुपैया राजस्व संकलन गरेको थियो जुन लक्ष्यभन्दा झन्डै साढे ४ अर्ब बढी रहेको छ ।