नेविसंघद्धारा ठाकुरराममा हेल्प डेस्क स्थापना

नेविसंघद्धारा ठाकुरराममा हेल्प डेस्क स्थापना

वीरगञ्ज, १८ जेठ । नेपाल विद्यार्थी संघ ठाकुरराम ईकाई कमिटीले क्याम्पस परिसरमा हेल्प डेस्क स्थापना गरेको छ । स्नातक तह प्रथम वर्षको फारम भर्न आउने विद्यार्थी तथा अभिभावकहरुको सहजीकरणका लागि नेविसंघले हेल्प डेस्क सञ्चालन गरेको हो ।

मंगलबारदेखि क्याम्पस परिसरमा स्थापना भएको हेल्प डेस्कले फारम भर्न आउनेहरुले स्वास्थ्य मापदण्डहरु पालना गरे नगरेको बारे सुनिश्चितता समेत गर्ने नेविसंघका इकाई अध्यक्ष मनोज कुमार साहले जानकारी गराए । फारम भर्न क्याम्पस आउनेहरुलाई जानकारी अभाव हुँदा एकै ठाउँमा भिड हुने, फाराम भर्न ढिलाई हुनेलगायतका विभिन्न समस्याहरुको समाधान गर्न हेल्प डेस्कको स्थापना गरिएको साहले बताए ।

क्याम्पसमा अध्ययनरत नेविसंघ आबद्ध विद्यार्थीहरुले हेल्प डेस्कमार्फत रसिद काट्ने विद्यार्थीहरुलाई दुरी कायम गर्दै लाईनमा लगाउने, परीक्षा शाखाबाट फारम लिँदा दुरी कायम भए नभएको सुनिश्चित गर्ने, फारम भरिरहँदा विषय कोडसहित फारम भर्ने तरिकालगायतका विषयहरुमा सेवा प्रवाह गरिरहेको उनको भनाई छ ।

बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म सञ्चालन भईरहेको हेल्प डेस्कमा पनि परीक्षा फारमहरु उपलब्ध रहेको उनले जानकारी गराए ।

“हामीले हेल्प डेस्कबाटै पनि फारम बाँडिरहेका छौ, रसिद काट्न लाईनमा लाग्नेहरुको लागि दुरी व्यवस्थापनमा ध्यान दिईरहेका छौं”, साहले भने, “फारम भर्न क्याम्पस आउँदा संक्रमणको सम्भावना न्युन होस् भन्दै हामी भिड हुन दिईरहेका छैनौं।”

नेविसंघका शेष हजरा, बिट्टु पटेल, शेखर गुप्ता, राजन पटेल, सञ्जय पटेल, प्रिन्स तिवारी, धर्मराज यादवलगायतकाहरुको सक्रियतामा हेल्प डेस्क सञ्चालनमा छ ।

यसअघि नेविसंघले सोमबार क्याम्पसमा विद्यार्थीहरुको अत्याधिक भिड भएको खबर पाएपछि दुई-दुई फिटको अन्तरमा विद्यार्थी उभिने गरि गोलाकार बनाएर भिड व्यवस्थापनमा सहजीकरण गरेको थियो ।

त्रिविले स्नातक तह प्रथम वर्षको फारम भर्न विद्यार्थीहरुलाई आह्वान गरेपछि हाल त्रिविका आंगिक क्याम्पसहरुमा फारम भर्न विद्यार्थीहरुको घुईँचो लागेको हो ।