असार १५ गतेबाट पठन पाठन सुरु गर्न विद्यालयहरुलाई वीरगञ्ज महानगरको निर्देशन

असार १५ गतेबाट पठन पाठन सुरु गर्न विद्यालयहरुलाई वीरगञ्ज महानगरको निर्...

वीरगञ्ज २२ जेठ । वीरगञ्ज महानगरपालिका कार्यालयले विगत २ महिनादेखि बन्द रहेका सामुदायिक र संस्थागत विद्यालयलाई क्रमिक रुपले सञ्चालन गर्दै जाने निर्णय गरेको छ ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले शुक्रबार एउटा सूचना जारी गर्दै असार १५ गतेदेखि अभिभावकसँग लिखित सहमति गराई नियमित रूपमा नगरका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयहरुलाई कक्षा ८ देखि १२ सम्मको पठन पाठन सूचारु गर्न निर्देशन दिएको हो । 

सूचनामा कोरोनाभाइरस महामारी नियन्त्रण हुँदै गएपछि असार १ गतेदेखि विद्यार्थी ७ गतेसम्म विद्यार्थी भर्ना लगायतका व्यवस्थापकिय कार्य गर्न र १५ गते पश्चात निर्यमित रुपले पठन पाठन सञ्चालन गर्न भनिएको छ ।
 
"वीरगञ्ज महानगरपालिकाको जेठ २० गतेको निर्णय अनुसार कोभिड-१९ को विषम परिस्थीतिले प्रभावित भई विद्यालयहरुमा पठन पाठन बन्द रहेकोले बालबालिकाको शैक्षिक क्षतिलाई मध्यनजर गर्दै अगामी शैक्षिक सत्र असार १ गतेदेखि विद्यालय करमिक रुपले सञ्चालन गर्ने निर्णय भएकोहुदा प्रथम पटकमा तपसिलका निर्देशनहरु पालना गर्दै कक्षा ८ देखि कक्षा १२ सम्म विद्यालय सञ्चालिन गर्न गराउन हुन सम्बन्धित सबैकोलागि यो सूचना प्रकाशित गरिएको छ," महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ ।

विद्यालय सञ्चालन गर्दा अनिवार्य रुपमा  स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने र कुनै पनि विषम स्थिति देखिना साथ तुरन्त शैक्षिक प्रशासन महाशाखामा सूचित गर्ने महाशाखाले आग्रहसमेत गरेको छ ।