कलैया : ४० प्रभावित परिवारलाई रोट्रायक्टको राहत

कलैया : ४० प्रभावित परिवारलाई रोट्रायक्टको राहत

कलैया, २४ जेष्ठ । बाराको कलैया उपमहानगरपालिकामा निषेधाज्ञाका कारण प्रभावित भएका ४० घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । रोट्र्याक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसले कोरोनाभाइरस संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गर्न आह्वान गरिएको निषेधाज्ञाका कारण प्रभावित परिवारहरुलाई राहत वितरण गरेको हो ।

सोमबार राहत लिएर पुगेको रोट्रायक्टको टोलिले कलैया उपमहानगरपालिका वडा नं ८ को मोहनबाग र बैरियाको दलित बस्तीमा रहेका ४० परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

दैनिक ज्यालादारी गर्ने मजदुर, गरिब तथा अति विपन्न परिवारहरुलाई राहत प्रदान गरेको क्लबले जनाएको छ । निषेधाज्ञाका कारण प्रभावितहरुको भोजनमा कुनै समस्या नहोस् भन्दै क्लबले गत १ महिनादेखि राहत वितरण अभियानलाई निरन्तरता दिँदै आएको छ ।

क्लबका जोन १३ का जेडआरआर प्रकाश कर्ण, अध्यक्ष सलोनी रौनियार, सह सचिव दिपु वर्णवाल र सदस्य रोहित गुप्तासहितको टोलिलाई राहत वितरणमा स्थानिय युवा रैनुद्दिन अंसारीले सहजीकरण गरेका थिए ।