असार १ गतेदेखि विद्यालय सञ्चालन गरे ताल्चा लगाउने सयुँक्त विद्यार्थी संगठनको चेतावनी

असार १ गतेदेखि विद्यालय सञ्चालन गरे ताल्चा लगाउने सयुँक्त विद्यार्थी स...

वीरगञ्ज, ३० जेठ । वीरगञ्ज महानगरभित्र सञ्चालित विद्यालयहरु असार १ गतेदेखि सञ्चालन भए ताल्चा लगाईदिने सयुँक्त विद्यार्थी संगठन समितिले चेतावनी दिएको छ ।

समितिका संयोजक विकास तिवारीको नेतृत्वमा आइतवार वीरगञ्ज महानगरपालिका शैक्षिक महाशाखाका प्रमुख अर्विन्दलाल कर्णसँग भएको छलफलका क्रममा संगठनले ठोस मापदण्ड र अनुगमन समिति नबनाउँदा सम्म विद्यालय सञ्चालन गर्न नदिने अडान राखेका छन् ।

कोरोना भाइरसको महामारीका कारण शिक्षा क्षेत्रमा परेको प्रभावलाई न्युनिकरण गर्न शूल्क बढाउने, पाठ्यपुस्तक थप्ने तथा परिवर्तन गर्ने, विद्यालयको पोशाक परिवर्तन गर्ने जस्ता लगायतका कार्यहरु नगर्न ध्यानाकर्षण गराउँदै विद्यार्थी तथा विद्यालय सम्बन्धी निर्णय गर्दा विद्यार्थी संगठनलाई पनि अनिवार्य रुपमा उपस्थिती गराउन समितिले आग्रह गरेको संघर्ष समितिका सहसंयोजक कविराज पटेलले बताए ।

वीरगञ्ज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख अर्विन्दलाल कर्णले विद्यार्थी संगठनले उठाएको विषयवस्तुमा महानगर गम्भिर रहेको हुँदा ठोस मापदण्ड बनाउने आश्वासन दिए । अनुगमन समिति बनाउने र मापदण्ड निर्माणका लागि छिटै छलफल गरी सूचना निकालिने कर्णले बताए ।

समितिका सदस्य रेयाज अन्सारी, शेष हजरा, फिरोज बादशाह, एजाजबाबु राकी, मनोज साह, अभय कर्ण, हरिन्द्र साह, आशिफ अहमद, सल्लाहाकार समितिका अध्यक्ष सुजित गिरी, पूर्व विद्यार्थी नेता शिवजी गुप्ता लगायतको सहभागिता रहेको सल्लाहाकार समितिका सदस्य एवम् अनेरास्ववियुका केन्द्रिय सदस्य हेमन्त तामाङले जानकारी दिए । 

यसअघि वीरगञ्ज महानगरपालिकाले असार १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।