जेठ महिनाको विद्यालय शुल्क नलिन प्याब्सन पर्साको निर्देशन

जेठ महिनाको विद्यालय शुल्क नलिन प्याब्सन पर्साको निर्देशन

बीरगन्ज,३० जेठ ।आइतबार बसेको प्याब्सन पर्सा र बीरगन्ज महानगर कमिटिको संयुक्त बैठकले पर्सामा जारी निषेधाज्ञाका कारण विद्यालय सञ्चालन नहुँदा जेठ महिनाको शुल्क मिनाह गर्ने निर्णय गरेको हो ।

निजी तथा आवासीय विद्यालय सङ्घ (प्याब्सन) पर्सा र बीरगन्ज महानगर कमिटिको बैठकले जेठ महिनाको विद्यालय शुल्क मिनाह गर्ने निर्णय गरेको छ । बैठकले पूर्णरुपमा बन्द तथा कुनै पनि माध्यमबाट कक्षा सञ्चालन नगरी पठनपाठन नगराएका विद्यालयहरुलाई जेठ महिना भरी शुल्क नलिन निर्देशन समेत गरिसकेको प्याब्सनले बताए ।

कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा बैशाख १६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा लागु गरेको छ । निषेधाज्ञा लाग्नु पूर्वसम्म विद्यालयहरुमा नियमित पठन-पाठन भएको थियो । तर दोस्रो लहरको कोरोना सङ्क्रमण नियन्त्रण बाहिर जान थालेपछि स्थानीय प्रशासनले विद्यालय लगायात सम्पूर्ण क्षेत्र बन्द गर्‍यो ।

अहिले महामारी नियन्त्रण भएसँगै कोरोना सङ्क्रमणको दरसमेत घट्न थालेपछि बीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले असार महिनादेखि विद्यालय खोल्न निर्देशन दिएको छ ।

महाशाखाले असारको पहिलो र दोस्रो साता विद्यालय व्यवस्थापन र विद्यार्थी भर्ना र तेस्रो सातादेखि ८ देखि १२ सम्मको कक्षा भौतिक रुपमै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न निर्देशन दिएको छ ।

महानगरको निर्देशन अनुसार विद्यालयहरुले कक्षा सञ्चालनको तयारी पनि सुरु गरिसकेको प्याब्सन पर्साले बताए ।