वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुख कर्णलाई विद्यार्थीले कार्यकक्षमै थुने

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुख कर्णलाई विद्यार्थीले कार्यकक्षमै थ...

वीरगञ्ज, ६ असार । वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखा प्रमुख अर्बिन्दलाल कर्णलाई आइतबार विद्यार्थीहरुले एक घण्टा कार्यकक्षामै थुनेका छन् । 

आवश्य तयारीविनै नगरक्षेत्रको विद्यालय संचालन गराउन खोजेको भन्दै उनीहरुले शिक्षा महाशाखा प्रमुख कर्णलाई विहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म १ घण्टाका लागि कार्यकक्षमै थुनेका थिए । 

केहीदिन अघि संयुक्त विद्यार्थी संघर्ष समितिले भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने मोडल र मापदण्डका बारेमा प्रष्ट पार्नु पर्ने, विद्यार्थीका विषयमा कुनै पनि निर्णय गर्दा आफुहरुलाई पनि संलग्न गराइनु पर्ने लगायतका माग राख्दै शिक्षा महाशाखा प्रमुखको ध्यानाकर्षण गराएका थिए । 

ध्यानाकर्षण वाबजुद पनि महाशाखा प्रमुख विद्यार्थीको हितविपरित गएर काम गर्न लागेपछि बाध्य भएर उनलाई कार्यकक्षमै थुन्नु परेको संयुक्त विद्यार्थी संघर्ष समितिका प्रवक्ता हेमन्त तामाङले बताए ।

संघर्ष समितिका संयोजक विकास तिवारीको नेतृत्वमा गएको विद्यार्थीको टोलीले कर्णलाई कार्यकक्षमा थुनेका हुन् । 

विद्यार्थीहरुले महाशाखा प्रमुखको कार्यकक्षमा ताला लगाउँदै शैक्षिक माफिया मुर्दावाद, विद्यार्थीको स्वास्थ्य माथि खेलवाड गर्ने पाइँदैन, नालायक शिक्षा महाशाखा प्रमुख मुर्दावाद  लगायतका नारा लगाएका थिए । 

तालाबन्दी पश्चात् आयोजित कोणसभालाई विद्यार्थीहरु नेताहरु एजाज बाबु, धर्मराज यादव लगायतका नेताले सम्बोधन गर्दै विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै अघि बढ्न स्थानीय सरकारलाई आग्रह गरेका थिए । 

कार्यक्रमको सहजीकरण संघर्षसमितिका सह-संयोजक कविराज पटेलले गरेका थिए ।